बागमती प्रदेशमा ८ महिनामा ४ हजार बढी नयाँ उद्योग दर्ता
'उद्योग दर्ता हुने दर हरेक वर्ष घट्दै'
मकवानपुर । बागमती प्रदेशमा चालु आर्थिक वर्ष (आव) २०८१/८२ को ८ महिनाको अवधिमा ४ हजार बढी नयाँ साना तथा मझौला उद्योग दर्ता भएका छन् ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा प्रदेशको क्षेत्राधिकार भित्र पर्ने उत्पादनमूलक, कृषि तथा वन पैदावार, ऊर्जामूलक, निर्माण, पर्यटन, सूचना, प्रसारण तथा सञ्चार प्रविधि, सेवामूलक र खनिज सम्बन्धी कुल ४ हजार २५५ वटा साना तथा मझौला उद्योग दर्ता भएको प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको तथ्याङ्क अनुसार यस अवधिमा प्रदेशको १३ जिल्लास्थित उद्योग तथा वाणिज्य कार्यालयमा ४ हजार २५३ र उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौँडामा ३ गरि कुल ४ हजार २५५ वटा नयाँ उद्योग दर्ता भएका छन् । यस अवधिमा सबैभन्दा धेरै उद्योग तथा वाणिज्य कार्यालय काठमाडौँमा १ हजार २५३ र सबैभन्दा कम उद्योग रसुवा जिल्लामा ३१ वटा उद्योग दर्ता भएका छन् । यस्तै सिन्धुली जिल्लामा १३२ वटा, रामेछापमा ६१ वटा, दोलखामा १८१ वटा, सिन्धुपाल्चोकमा ४० वटा, काभ्रेमा ३७० वटा, भक्तपुरमा १ हजार १२४ वटा, ललितपुरमा ३५७ वटा, नुवाकोटमा एकसय वटा, धादिङमा ९४ वटा र चितवनमा २१३ वटा र मकवानपुरमा २९६ वटा उद्योग दर्ता भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
मन्त्रालयको तथ्याङ्क अनुसार प्रदेशभित्र आर्थिक वर्ष २०७६/०७७ यता हालसम्म कुल ६० हजार २५१ साना र ३ वटा मझौला उद्योग दर्ता भएको छ । जसमध्ये कृषि तथा वन पैदावरमा आधारित उद्योग १९ हजार १९४ वटा, उत्पादनमूलक उद्योग १० हजार ९६३ वटा, पूर्वाधार (निर्माण) उद्योग १ हजार १३९ वटा, सूचना, प्रसारण तथा सञ्चार प्रविधि उद्योग ११० वटा, ऊर्जामूलक उद्योग ११ वटा दर्ता भएका छन् । यस्तै खानी क्षेत्रका २, सेवामूलक उद्योग १८ हजार ६७४ र पर्यटन क्षेत्रका ४ हजार ४०३ वटा उद्योग दर्ता भएको मन्त्रालयले जनाएको छ । उक्त उद्योगहरूले एक लाख ५५ हजार ३९३ जनालाई प्रत्यक्ष रुपमा रोजगारी दिइरहेको तथ्याङ्कमा उल्लेख छ ।
नयाँ उद्योग दर्ता हुने दर घट्दो क्रममा
उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको तथ्याङ्क अनुसार बागमती प्रदेशमा पछिल्लो चार वर्षयता नयाँ उद्योग दर्ता हुने दर भने, निरन्तर घट्दो क्रममा रहेको छ । मन्त्रालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६/७७ र २०७७/०७८ पछि बागमती प्रदेशका विभिन्न जिल्लामा वर्षेनी नयाँ उद्योग दर्ता हुने दर घट्दै गएको हो ।
आर्थिक वर्ष २०७६/७७ मा प्रदेशका विभिन्न जिल्लामा कुल ११ हजार ८६४ दर्ता भएकोमा आर्थिक वर्ष २०७७/०७८ मा त्यो सङ्ख्या बढेर १६ हजार ४९८ वटा उद्योग दर्ता भएको थियो । त्यस यता वर्षेनी नयाँ उद्योग दर्ताको घट्दो क्रममा रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्क अनुसार त्यसयता आर्थिक वर्ष २०७८/७९ मा ११ हजार ६६७, आर्थिक वर्ष २०७९/८० मा ८ हजार ६४०, आर्थिक वर्ष २०८०/०८१ मा ६ हजार ५४३ र २०८१ को फागुन मसान्तसम्म कुल ४ हजार २५५ वटा मात्र उद्योग दर्ता भएको छ ।
विश्वव्यापी रूपमा देखिएको आर्थिक मन्दी, बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभाव जस्ता कारण पनि नयाँ उद्योग दर्ता हुने क्रम वर्षेनी घट्दो क्रममा रहेको मन्त्रालयका प्रवक्ता सुनिता गजुरेलले जानकारी दिनुभयो । लामो समयदेखिको आर्थिकमन्दी, युवाहरू वैदेशिक रोजगारीका लागि विदेशिने क्रम बढ्नु, लगानी मैत्री वातावरण निर्माण हुन नसक्नु जस्ता कारणले पनि नयाँ उद्योग दर्तामा कमी आएको हुन सक्ने उहाँको भनाई छ ।
प्रतिक्रिया राख्नुहोस्