तपाईँ सुन्दै हुनुहुन्छः

नयाँ बर्ष–२०८२ को गन्तव्य: सैलुङको सय थुम्का

दोलखा। नयाँ बर्ष– २०८२ को पहिलो दिन सयवटा थुम्का भएको शैलुङ डाँडामा पचास हजार भन्दा बढी पर्यटक पुगेका छन् । राजधानी काठमाडौँबाट नजिक रहेको सैलुङमा पछिल्लो समय अत्यधिक पर्यटक पुग्ने गरेका छन् । 

नयाँ बर्ष– २०८२ को पहिलो दिन अहिलेसम्मकै धेरै पर्यटक पुगेको स्थानीय युवा समाजसेवी नवराज खड्काले बताउनुभयो । दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौँ लगायत विदेशी पर्यटक समेत पुगेको शैलुङ डाँडामा स्थानीय सांस्कृतिक नृत्य तथा गीतहरू समेत प्रस्तुत गरिएको थियो । 

टिकटक र युट्युबमा सैलुङको प्राकृतिक सुन्दरता हेरेर आफूहरू यहाँ नयाँ बर्ष– २०८२ मनाउन आएको सिन्धुपाल्चोक जलविरेकी स्थानीय प्रिया तामाङले बताउनु भयो । साना– ठुला थुम्काहरूको लहर, ग्रेट वाल र चिमालको सौन्दर्यले शैलुङ टिकटक र युट्युबमा देखेको भन्दा सुन्दर पाएको प्रियाको भनाई छ ।

दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर– ८ मा पर्ने तीन हजार एक सय ४८ मिटरको उचाइमा रहेको सैलुङको सयवटा थुम्कामा ऋषिहरूले तपस्या गरेको किंवदन्ती रहेको छ । सैलुङमा हरेक बाह्र वर्षमा गोदावरी फुल्ने विश्वास गरिन्छ । सैलुङका केही भाग दोलखाको मेलुङ गाउँपालिका र रामेछापमा समेत पर्दछ । 

महादेव (शिवजी) को प्रतिमूर्तिमा सीर निहुराएर मागेको बर खेर नजाने विश्वास रहेको स्थानीय धनबहादुर मगरले बताउनुभयो । महादेव मन्दिरसँगै रहेको धर्म ढोकामा धेरैले आफ्नो कर्मको मूल्याङ्कन गरिरहेका हुन्छन् ।

सैलुङको थुम्काहरूबाट गौरीशङ्कर लगायतका हिमशृङखलाहरू नियाल्ने, पुष– माघमा हिउँसँग खेल्ने, महादेव, भीमसेन शिला तरवार लगायतका मठ– मन्दिरको दर्शन गर्ने र ग्रेट वाल चढ्ने अवसरको लागि दैनिक सयौँ पर्यटक शैलुङ पुग्ने गरेको स्थानीयको भनाई छ । 

शैलुङ पुग्न दोलखाको चरङ्गे, महाङ्काल थान, सेरावेशी र चरिकोट, सिन्धुपाल्चोकको मूडे र रामेछापको खोलाखर्क हुँदै जान सकिने स्थानीय बताउँछन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button