तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डे र सार्वजनिक सेवा प्रसारण संस्थाका अध्यक्ष डा. बिष्ट बिच भेटवार्ता

'अध्यक्षद्वारा रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालयको अवलोकन'

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र सार्वजनिक सेवा प्रसारण संस्थाका कार्यकारी अध्यक्ष डा.महेन्द्र बिष्ट बिच भेटवार्ता भएको छ ।

मुख्यमन्त्री पाण्डे र अध्यक्ष डा.बिष्ट बिच शुक्रबार बेलुका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमै नेपाल टेलिभिजन र रेडियो नेपाल व्यवस्थापन गर्न सरकारले हालै ल्याएको सार्वजनिक सेवा प्रसारण संस्थालाई कसरी प्रभावकारी र प्रादेशिक रुपमा सहकार्य गर्न सकिन्छ भन्ने बारेमा भेटघाटमा दुवै पक्ष बिच छलफल भएको थियो ।

सरकारी सञ्चार माध्यमहरूलाई थप प्रभावकारी बनाउदै आम जनताको आवाज विहीनहरूको आवाज बुलन्द पार्दै सरकारले गरेका राम्रा कामको प्रचार प्रसार गर्न आग्रह गर्नुभयो । कार्यक्रमको मोडल परिवर्तन गर्न सरकारी सञ्चार माध्यमलाई सुझाव दिनुहुँदै उहाँले सार्वजनिक सेवा प्रसारण संस्थाको हितको लागि प्रदेश सरकारले आवश्यक सहयोग तथा साथ दिने वचन दिनुभयो । उहाँले भन्नुभयो“ प्रदेश सरकारको आउँदो वर्षको बजेट बनाउने समयमा तपाईँहरू आउनु भएको छ, यसमा हामीले के गर्न सक्छौँ, कसरी साझेदारी गर्न सक्छौँ हेर्छौँ ।”

अध्यक्ष डा.बिष्टले तीन तहका सरकारसँग समन्वय गर्दै प्रत्येक प्रदेशसँग समेत सहकार्य गर्दै आएको उल्लेख गर्दै गण्डकी प्रदेश सरकारले पनि हाल केही कार्यक्रम उत्पादनमा सहयोग गरेको जनाउनु भयो । पोखरामा टेलिभिजनको स्टुडियो बनाउन लागेको समेत बताउनुहुँदै उहाँले प्रदेश सरकारसँग साझेदारीमा कार्यक्रम गर्न सार्वजनिक सेवा प्रसारण संस्था तयार रहेको बताउनुभयो । अध्यक्ष डा.बिष्टले अब आफूहरू रेडियो, टेलिभिजन सहित डिजिटल माध्यमबाट आम जनता, दर्शक एवं पाठक माझ पुग्ने दाबी गर्दै पहिलो चरणमा आफूहरूलाई बढी मेहनत र श्रोतको समेत आवश्यक भएको जनाउनु भयो । अध्यक्ष डा.बिष्टको साथमा रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय गण्डकी प्रदेशका प्रमुख शान्ति गुरुङ सहितको टोली मुख्यमन्त्री पाण्डे समक्ष भेटघाट एवं छलफलमा सहभागी हुनुभएको थियो ।  

रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालयको अवलोकन

सार्वजनिक सेवा प्रसारण संस्थाका कार्यकारी अध्यक्ष डा.महेन्द्र बिष्टले रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय गण्डकी प्रदेश पोखरा कार्यालयको अध्ययन अवलोकन गर्नु भएको छ । शुक्रबार बेलुका अध्यक्ष डा.बिष्टले पोखरा मालेपाटनमा रहेको रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालयको अवलोकन सहित कर्मचारीहरूलाई रेडियो र टेलिभिजन तथा डिजिटल प्रविधिलाई आत्मसाथ गर्दै अघि बढ्न सुझाव दिनुभयो ।

कर्मचारीको गुनासो समेत सुन्दै उहाँले सार्वजनिक सेवा प्रसारण संस्थालाई माथि उठाउन सबैको सहयोग आवश्यक भएको बताउँदै यसमा सबै जना एक भई लाग्न सुझाव दिनुभयो । अध्यक्ष डा. बिष्टले भन्नुभयो “रेडियो र टेलिभिजनको भविष्य छ, यसमा हामीले डिजिटल माध्यमलाई पनि आत्मसाथ गर्दै अघि बढ्नुपर्छ, विपद्का वेला देशमा चर्चित पत्रपत्रिका बन्द हुँदा रेडियो ,टेलिभिजन र डिजिटल (अनलाइन माध्यम) ले सूचना प्रवाह गरेको होइन ?” अहिलेको युवा पुस्ता सामाजिक सञ्जाल र डिजिटल माध्यममा बढी आकर्षण गरेको हुँदा अब सञ्चार माध्यममा कार्यरत कर्मचारीहरूले पनि समय अनुसारको प्रविधिलाई सिको गर्दै अघि बढ्नुपर्ने अध्यक्ष डा.विष्टको भनाई थियो । रेडियो र टेलिभिजनमा समस्या रहेको बताउँदै उहाँले पेन्सन, तलव लगायतको समस्या सहित भौतिक संरचनाहरू समेत धेरै ठाउँमा जीर्ण भएकोले त्यसको समय अनुसार व्यवस्थापन गर्दै लैजाने आफूहरूको योजना रहेको उहाँले जनाउनु भयो ।

श्रोत खोजी सहित खर्चको अधिकार दिने आफूहरूको योजना रहेको समेत अध्यक्ष डा.बिष्टले सुनाउनुभयो । रेडियो तथा टेलिभिजनको अब पहुँच बढाउन उहाँले निर्देशन समेत दिनुभयो ।  

रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय गण्डकी प्रदेशका प्रमुख शान्ति गुरुङले पोखरा कार्यालयको बस्तु स्थितिबारे प्रस्ट्याउँदै अब छिट्टै टेलिभिजनको स्टुडियो समेत बनाउने योजना रहेको बताउनु भयो । सीमित श्रोत साधनका बाबजुद संस्था जेनतेन चन्दै आएको बताउँदै उहाँले पोखराको कार्यालयमा हाल ३० जना कर्मचारीलाई व्यवस्थापन गर्न कार्यालय भवन समेत अभाव भएको गुनासो गर्नुभयो ।

रेडियो तथा टेलिभिजनमा कार्यरत कर्मचारीको भविष्यको लागि केही नयाँ कार्यक्रमहरू ल्याउने आफूहरूको योजना रहेको प्रमुख गुरुङले जनाउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button