मानसिक स्वास्थ्य सम्बन्धी समस्यामा तीनै तहका सरकार गम्भीर हुनु आवश्यक
बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकामा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले मानसिक स्वास्थ्य सम्बन्धी उपचार तथा परामर्श कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनु भएको छ ।
लुम्बिनी प्रदेशका जनप्रतिनिधि, स्वास्थ्य मन्त्रालयका सचिव तथा कर्मचारी, बारबर्दिया नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी तथा द्वन्द्वपीडित परिवारका सदस्यहरूबिच भएको सो अन्तरक्रियामा मानसिक स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिनु अत्यावश्यक रहेको धारणा व्यक्त गरिएको हो ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य राजकुमार चौधरीले मानसिक स्वास्थ्य समस्या सामाजिक समस्या भएकाले यसको व्यवस्थापनमा प्रदेश सरकारले सक्रिय रूपमा काम गरिरहेको जानकारी दिनुभयो । हाल बजेट निर्माणको चरण चलिरहेको सन्दर्भमा सबै पक्षले आफ्ना आवश्यकता र प्राथमिकता अनुसार माग राख्नुपर्ने उहाँको भनाइ थियो ।
बारबर्दिया नगरपालिकाका नगरप्रमुख छविलाल थारूले मनोसामाजिक परामर्श सहयोग कार्यक्रमलाई नगरपालिका स्तरबाट अपनत्व लिइने बताउनुभयो । परियोजनाबाट सञ्चालित कार्यक्रम प्रभावकारी भएको र समुदायका लागि अत्यन्त आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।

स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशकी सचिव दुर्गा लक्ष्मी श्रेष्ठले मानसिक स्वास्थ्य रणनीति प्रदेश सभाबाट पारित भइसकेको जानकारी दिँदै, सो रणनीति अनुसार लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका १०९ वटै पालिकामा कार्यक्रम विस्तार गरिने बताउनुभयो। रणनीति कार्यान्वयनको चरणमा रहेकाले बजेट निर्माणमा प्रदेश सरकारसँगै स्थानीय तहले पनि प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले आम नागरिकको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न सबै जनतालाई स्वास्थ्य बिमामा समावेश गर्ने योजना रहेको जानकारी दिनुभयो। साथै, द्वन्द्वपीडित परिवारलाई प्राथमिकतामा राखेर कार्यक्रम कार्यान्वयन तथा नीति निर्माणमा उनीहरूको सहभागिता सुनिश्चित गरिने पनि स्पष्ट पार्नुभयो ।
बारबर्दिया नगरपालिकाद्वारा स्विस राजदूतावास र सी.एम.सी. नेपालको साझेदारीमा सञ्चालित कार्यक्रमअन्तर्गत हाल द्वन्द्व प्रभावित समुदायमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवा प्रदान गरिँदै आएको छ । बारबर्दिया नगरपालिकामा आयोजित छलफल कार्यक्रममा स्वास्थ्यकर्मी, जनप्रतिनिधि र द्वन्द्वपीडितहरूको सक्रिय सहभागिता रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्