गणतन्त्रमा देखिने गरी काम भएका छन् : महासचिव पोखरेल
सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले गणतन्त्रपछि कर्णालीको विकासमा जनताले देख्ने गरी काम अघि बढेको बताउनुभएको छ ।

सुर्खेतको वीरेन्द्रनगरमा नेकपा एमाले सुर्खेतले आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै उहाँले विगतभन्दा कर्णालीले पछिल्लो समय धेरै उपलब्धि प्राप्त गरेको बताउनुभयो ।
महासचिव पोखरेलले राजनीतिक अस्थिरताका कारण विकासमा केही समस्या भए पनि केही भएन भनेर जनतामा निराशा र समाजमा अराजकता फैलाउनु गलत भएको बताउनुभयो । नकारात्मकभन्दा सकारात्मक कुरामा ध्यान दिन सबैलाई आग्रह गर्दै उहाँले राजाको २५० वर्षे शासनकालमा देशभरी कुल ८ हजार किमी बाटो बनेकोमा अहिले १ लाख १० हजार किमी बाटो बन्नुमा गणतन्त्रको देन भएको दाबी गर्नुभयो ।
राजाको पालामा देशको कुल गार्हस्थ्य उत्पादन ४ खर्ब मात्रै रहेकोमा अहिले ५७ खर्ब पुगेको उल्लेख गर्दै महासचिव पोखरेले राजाको शासनकालमा प्रतिव्यक्ति आय दुई सय अमेरिकी डलर रहेकोमा अहिले १४ सय पुगेको जानकारी दिनुभयो ।
संविधान र व्यवस्थामाथि चुनौती दिने गरी केही शक्ति सक्रिय भएको बताउँदै उहाँले पञ्चायतसँग गणतन्त्रलाई तुलना गरेर अस्थिरता मच्चाउनेहरू अपराधी भएको बताउनुभयो । राजावादीद्वारा प्रदर्शनको नाममा जुन हर्कत भए ती आपराधिक, संविधान विरोधी र जनविरोधी क्रियाकलाप भएको बताउँदै महासचिव पोखरेलले सामाजिक सञ्जालबाट भ्रमको खेती मात्र गरिएको भन्दै त्यस भ्रमलाई चिर्नुपर्नेमा जोड दिनुभयो ।
जनआन्दोलनबाट फालिएको राजतन्त्र गणतन्त्रको विकल्प हुन नसक्ने बताउँदै उहाँले गुनासा र असन्तुष्टि भए पनि यही व्यवस्थालाई बलियो बनाएर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्