सडक सुरक्षा रेडियो कार्यक्रम प्रसारण हुने
सुर्खेत । रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय सुर्खेतबाट सडक सुरक्षा रेडियो कार्यक्रम प्रसारण हुने भएको छ । रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय सुर्खेत र कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको सहकार्यमा रेडियो कार्यक्रम उत्पादन र प्रसारण हुने भएको हो ।

सडक दुर्घटनाको जोखिम न्यूनीकरण गर्न जनचेतनामूलक सामग्री प्रसारण गर्ने मुख्य उद्देश्यले सञ्चालन गर्न लागिएको कार्यक्रम प्रसारण सम्बन्धी दुई पक्षीय सम्झौतापत्रमा आज भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका सचिव ईश्वर चन्द्र मरहट्ठा र रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय सुर्खेतका कार्यालय प्रमुख अनुराधा थापाले हस्ताक्षर गर्नुभयो । साप्ताहिक रुपमा प्रसारण हुने सडक सुरक्षा कार्यक्रम अब प्रत्येक मङ्गलवार बेलुकी ५ः४५ बजे रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र सुर्खेतबाट प्रसारण हुनेछ ।
भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका सूचनामूलक गतिविधिका साथै मुख्य रुपमा कर्णाली प्रदेशमा सडक पूर्वाधारको अवस्था, सडक दुर्घटनाको कारण, न्यूनीकरणका उपाय र अपनाउनुपर्ने सावधानी लगायतका विषयमा प्रभावकारी सामाग्री संयोजन गरी कार्यक्रम उत्पादन गर्न मन्त्रालयका सचिव ईश्वर चन्द्र मरहट्ठाले सुझाव दिनुभयो । रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय सुर्खेतका प्रमुख अनुराधा थापाले रेडियो नेपाल श्रोता, सरोकारवाला निकाय र साझेदार संस्थाको चासो र सरोकार मुखरित गर्न प्रतिबद्ध रहेको विचार व्यक्त गर्नुभयो ।
सडक सुरक्षा रेडियो कार्यक्रममा समेटिने चेतनामूलक सामाग्रीबाट सडक दुर्घटनाको जोखिम घटाउन सकारात्मक सन्देश प्रवाह हुने अपेक्षा गरिएको छ ।







प्रतिक्रिया राख्नुहोस्