मुख्यमन्त्री कप राष्ट्रिय भलिबल: ३–१ ले गण्डकी विजयी
भोजपुर । भोजपुर नगरपालिका -७ कोदार रङ्गशालामा जारी मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिता अन्तर्गत मङ्गलवार बिहान भएको पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ३–१ सेटले पराजित गर्दे गण्डकी प्रदेश विजयी भएको छ ।

खेलको पहिलो, दोस्रो र चौथो सेटमा लुम्बिनीलाई २५–२०, २५–१८ र २५–२१ अङ्कले गण्डकी प्रदेशले पराजित गरेको हो । तेस्रो सेट भने २५–२३ ले गण्डकीलाई लुम्बिनी प्रदेशले जितेको थियो । लिक आधारमा सञ्चालन भइरहेको खेल अन्तर्गत मङ्गलवार दिउँसो हुने दोस्रो खेल गण्डकी र सुदूरपश्चिम प्रदेशका बिचमा हुने आयोजक जिल्ला भलिबल सङ्घले जनाएको छ ।
प्रतियोगितामा मधेस र कर्णाली प्रदेश बाहेक कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका खेलाडीको सहभागिता जनाएका छन् । चैत २८ गतेसम्म हुने प्रतियोगिता सञ्चालनका लागि कोशी प्रदेश सरकारको कोशी प्रदेश खेलकुद विकास बोर्ड मार्फत रु २० लाख सहयोग गरेको छ ।
अन्य रकम जिल्लाका स्थानीय पालिका, व्यक्ति तथा सङ्घसंस्थाबाट सङ्कलन भई रहेको आयोजक जिल्ला भलिबल संघका महासचिव संग्राम किरातीले बताउनुभयो । प्रतियोगितामा कोशी प्रदेश भलिबल सङ्घले प्राविधिक सहयोग गरेको छ ।
प्रतियोगितामा प्रथम हुनेले रु तीन लाख, दोस्रोले रु एक लाख ७५ हजार, तेस्रोले रु ८० हजार तथा चौथो हुने टोलीले रु ४० हजार पुरस्कार प्राप्त गर्ने आयोजक जिल्ला भलिबल संघका अध्यक्ष विन्द्रकुमार तामाङले जानकारी दिनुभयो । पाँच बिधामा विधागतरुपमा उत्कृष्टलाई दश हजारका दरले पुरस्कार प्रदान गरिने छ ।
प्रतिक्रिया राख्नुहोस्