तराई–मधेशका सन्दर्भमा सञ्चार र रेडियो नेपाल

काठमाडौँ । प्रजातन्त्र र प्रेस स्वतन्त्रता एकअर्काको परिपूरक भएरै होला देशमा जब–जब प्रजातान्त्रिक वातावरणको निर्माण भयो तब–तब सञ्चार जगत्ले उल्लेख्य फड्को मार्यो।
समग्र देशमै सञ्चार वा प्रेस जगत्ले प्रजातन्त्र वा लोकतन्त्र भनिएको समयमा नै जन्मने, हुर्कने र फस्टाउने मौका पाएको हुँदा तराई–मधेशका सन्दर्भमा औँलामा गन्न सकिने कामहरू पनि यसै समयको उपलब्धिभित्र पर्दछन् । नेपालमा एफएम रेडियोहरू स्थापनाको लहरले पछिल्लो समय गाउँ–गाउँ वा टोल–टोलहरूमा समेत एक किसिमले निजी प्रकृतिका रेडियोहरू हुन थाले । हाल हात–हातमा मोबाइलजन्य सञ्चारमाध्यम भइसकेको अवस्थालाई दृष्टिगत गर्दा भन्न सकिन्छ,— नेपालमा यस अवस्थाको पूर्व अभ्यास रेडियो र टेलिभिजनहरूले लोकतान्त्रिक वातावरणमा थोरै समयमै मनग्य गर्न पाए । यो अवस्था आउनुपूर्व विद्युतीय सञ्चार क्षेत्रमा एकलौटी रजाइँ गर्दै आएको रेडियो नेपाल र नेपाल टेलिभिजनमध्ये रेडियो नेपालबाट तराई–मधेसको भाषाका नाममा सुरु गरिएको हिन्दी समाचार (वि.सं. २००७–२०२१) पहिलो पटकको प्रजातन्त्रको देन थियो । तर खास तराई–मधेसको भाषा, पूर्वी र मध्य तराईको जनभाषा तथा देशको दोस्रो सबैभन्दा ठूलो जनसमूहको भाषा मैथिलीमा २०४९ देखि समाचार प्रसारण प्रारम्भ भयो । यसलाई पुनर्स्थापित प्रजातन्त्र अथवा २०४६ सालको परिवर्तनको खास उपलब्धि मान्न सकिन्छ । यसकै निरन्तरतामा तराई–मधेशका भोजपुरी, अवधि, थारुलगायतका भाषामा २०५१ सालदेखि समाचार प्रसारणको शुरुआत भयो ।
प्रजातन्त्रकै फलस्वरूप देशको विद्युतीय सञ्चार बिस्तारै सरकारको एकाधिकारबाट निस्केर एफएम रेडियोको स्वरूपमा जनताको हातसम्म पुग्यो । पछिल्लो समय देशमा एफएम रेडियोहरू सूचना र मनोरञ्जनको सजिलो र सर्वसुलभ माध्यमको रूपमा व्यापक भएको कुरामा दुई मत छैन । बरु यस व्यापकतापछि पहुँचमा यथेष्ट विस्तार भएपनि प्रभावमा सङ्कुचन आउँदै गएको यथार्थलाई पनि स्विकार्नु उपयुक्त हुन्छ ।
आजको दिनमा भन्नुपर्दा नेपालमा एफएम रेडियोले आफ्नो परिचय र प्रभाव झण्डै साढे दुई दशकअघि नै स्थापित गरिसकेको थियो । तर यथार्थमा यसले व्यापकता र गहनता भने २०६२/०६३ को जनआन्दोलनपछि मात्र पाउन सक्यो । यस्तो व्यापकता पाउनु पछाडि लोकतान्त्रिक आन्दोलनमा त्यतिखेर सञ्चालनमा आइसकेका एफएम रेडियोहरूले पु¥याएको योगदानको महत्वपूर्ण भूमिका थियो । त्यसैले जनआन्दोलनबाट बनेको तत्कालीन सरकारले पहिले–पहिले एफएम रेडियोहरूको इजाजतपत्र दिने सन्दर्भमा रहेका सारा अप्ठ्याराहरू पन्छाएर सहजताका साथ इजाजत दिन प्रारम्भ ग¥यो । यसपछि देशभरि एफएम रेडियो स्थापनाको बाढी नै आयो ।
मिथिला–मधेशमा रेडियोको भाषिक–सांस्कृतिक मुखरता
कुनै पनि कुरालाई राम्रोसँग तौलिसकेपछि मात्र स्वीकार वा अङ्गीकार गर्ने स्वभावअनुसार तराईमा वा भनौँ मधेशीबहुल क्षेत्रमा लोकतन्त्रको आगमनपछि मात्र एफएम रेडियोको प्रत्यक्ष पहुँच सम्भव हुन सक्यो । तराई–मधेसकै कुरा गर्ने हो भने पहिलो चरणमा पनि विराटनगर, बुटवल, नेपालगञ्ज, वीरगञ्ज जस्ता ठाउँहरूमा एफएम रेडियो स्टेसनहरू स्थापना नभएका होइनन् । तर ती एफएमहरूले सञ्चालन गर्ने कार्यक्रमहरूमा भाषिक–सांस्कृतिक रूपले तराई र त्यहाँको जनमानसलाई सम्बोधन र प्रतिविम्बन गर्नेतर्फ खासै ध्यान दिएको नपाइएको हुँदा तिनलाई तराई वा मधेसको भनिहाल्न अलि अमिल्दो नै देखिन्थ्यो । वस्तुतः सबै दृष्टिले आफूलाई तराई–मधेसको प्रतिनिधि सहरको रूपमा प्रस्तुत गर्दै आएको जनकपुरधाम लगायतको ठाउँमा पहिलो चरणमा यसरी विस्तार हुन थालेका एफएम रेडियोहरू पुग्नै सकेका थिएनन् ।
नयाँ लोकतान्त्रिक वातावरणमा देशभरि एफएम रेडियो स्थापनाको लहर चल्यो । यस लहरले यदि सबैभन्दा बढी कुनै ठाउँलाई प्रभावित पा¥यो भने त्यो ठाउँ थियो प्राचीन मिथिलाको केन्द्र स्थल जनकपुरधाम । उसै पनि तराईको कुरा गर्नासाथ आमनेपालीको मनमस्तिष्कमा जनकपुर नै प्रतिनिधि स्थानको रूपमा स्थापित हुने गर्दछ र प्राचीन मिथिलाको राजधानी तथा मैथिली साहित्यिक/सांस्कृतिक क्रियाकलापका माध्यमबाट तराईको केन्द्रका रूपमा जनकपुरले नै जहिल्यै नेतृत्वदायी भूमिका निर्वाह गरेको देखिन्छ । यस अर्थमा जनकपुरमा एफएम रेडियो स्थापना भएपछि नै तराई–मधेश मूलका नेपाली जनताले तराई–मधेशमा रेडियोको वास्तविक स्वाद चाख्न पाए । यद्यपि जनकपुरमा एफएम रेडियो स्थापना गर्ने–गराउने मनस्थितिमा शाही शासनकाल भन्दा केही अघिदेखि नै थुप्रै व्यक्ति तथा सङ्घ–संस्थाहरू आइसकेका थिए । यो चाहना उत्कर्षमा पनि पुगिसकेको थियो । त्यसैले पहिलोपटक २०६३ सालको छठ पर्वका दिन रेडियो जनकपुरका नामबाट स्थानीय आवाज घन्केको ८ महिनाभित्रै जनकपुरमा आधा दर्जन एफएम सञ्चालनमा आए, जुन केही वर्षको अन्तरालमै एक दर्जनभन्दा बढी हुन पुगे ।
तर पछिल्लो चरणमा यतिविघ्न सक्रियता र आत्तुरी देखाउने जनकपुर आखिर यतिका वर्षसम्म किन मौन थियो त ? यो एउटा विचारणीय विषय अवश्य हुन आउँछ । वस्तुतः तराईमा रेडियो स्थापना गर्नका लागि (जसरी पछिल्लो समय जनकपुरका एफएमहरू सञ्चालित भए) सफ्टवेयरका मामलामा हरेक सामग्रीको पहिचान र निर्माण सुरुदेखि नै गर्नु आवश्यक थियो । यसका लागि सञ्चालकहरूमा भाषिक–सांस्कृतिक चिन्तन, चेतना र आबद्धताका साथै आत्मविश्वास पनि जरुरी थियो । तर प्रारम्भिक चरणमा भाषिक–सांस्कृतिक एवं कलात्मक संलग्नता भएका मानिसमा आर्थिक स्रोत र आत्मविश्वासको अभाव थियो भने आर्थिक साधन भएकाहरूमा आवश्यक सफ्टवेयर जुट्ने कुराप्रति संशयको अवस्था थियो । यसले गर्दा नेपालमा एफएम रेडियोको झण्डा फहराएको झण्डै सात वर्ष बितिसक्दा पनि तराई/मिथिला–मधेसको सांस्कृतिक केन्द्र तथा राजनीतिकलगायत अनेकौँ क्षेत्रमा प्रमुख हस्तक्षेपकारी भूमिका निर्वाह गर्दै आएको जनकपुरधाममा यस सरल एवं प्रभावकारी विद्युतीय सञ्चारमाध्यमको बीजारोपणसमेत हुन सकेन ।
यसका लागि वातावरण र आत्मविश्वास तब तयार भयो । जब राजधानी काठमाडौँमा केही एफएमहरूले तराईको प्रतिनिधि एवं समृद्ध भाषा मैथिलीमा रेडियो कार्यक्रम सञ्चालन गरे । सुरु–सुरुमा मैथिली भाषामा कार्यक्रम चलाउनु भनेको एउटा औपचारिकता मात्र हुने मान्दै आइएको थियो । खासगरी राजधानीमा बस्ने तराईवासीहरू तरकारी, फलफूल बेच्ने स्तरका मात्र हुन्छन् र तिनीहरूसँग रेडियो सुन्ने वा भाषिक–सांस्कृतिक क्रियाकलापमा संलग्न हुने चासो र समय हुँदैन भन्ने शासकवर्गीय मानसिकताले यसमा काम गरिरहेको थियो । तर कार्यक्रम सुरु भएलगत्तै यथेष्ट मात्रामा श्रोताहरूको आबद्धता र प्रतिक्रिया प्रकट हुन थालेपछि अघि धुकचुक मानीमानी मैथिलीमा कार्यक्रम सञ्चालन गर्न थालेका सम्बद्ध रेडियो व्यवस्थापकहरू पनि दङ्ग परेका थिए । यसपछि राजधानीमा सञ्चालित प्रत्येक जसो एफएम रेडियोहरूले मुख्य रूपले मैथिली र त्यसका साथसाथै भोजपुरी भाषामा हप्ताको एक/दुई कार्यक्रम प्रसारण हुने बन्दोबस्त मिलाउन थाले ।
एफएम रेडियोहरूमा मैथिली कार्यक्रमको प्रवेश र विस्तार
नेपालको रेडियो प्रसारणमा मैथिली भाषाको प्रवेशको कुरा गर्दा पञ्चायती कालदेखि नै चल्दै आएको फूलबारी नामक कार्यक्रमलाई लिन सकिन्छ । जसमा विभिन्न भाषाका गीतसङ्गीतका साथै मैथिलीका गीतसमेत प्रसारण गरिन्थे । रेडियो नेपालले उपलब्ध गराएको यो प्लेटफार्म साँघुरो, अस्थायी र अनिश्चित भएपनि मैथिलीलगायतका भाषाहरूको रेलगाडी पहिलोपटक यसैमा आएकोले महत्वपूर्ण थियो । तर रेडियोमा मैथिली भाषाको महत्वपूर्ण प्रवेश भने वि।सं। २०४९ सालको पुस १७ गते अर्थात् १ जनवरी १९९३ बाट भयो । यस दिनदेखि नेपालको सशक्त एवं प्रभावशाली सञ्चारमाध्यम रेडियो नेपालले राष्ट्रिय प्रसारण अन्तर्गत दैनिक ५ मिनेटको समाचार मैथिली भाषामा प्रसारण गर्न थाल्यो । यस युगान्तकारी घटनाको प्रभाव कतिसम्म देखियो भने लगत्तै भारतीय आकाशवाणीले पनि रेडियो नेपालकै अनुसरण गर्दै मैथिलीमा समाचार प्रसारण गर्न थाल्यो ।
मैथिली गीत सङ्गीत, कला–संस्कृति आदिसम्बन्धी कार्यक्रमको सन्दर्भमा २०५४ सालदेखि रेडियो नेपालका माध्यमबाट मैथिलीको उल्लेख्य प्रवेश भएको हो । यस समयमा रेडियो नेपालले अन्य भाषाका कार्यक्रमहरू पनि प्रसारण गर्न थालिसकेको थियो । गामक दलान नामको कार्यक्रमबाट मैथिलीमा साप्ताहिक कार्यक्रम सुरु गरिएको थियो । यस कार्यक्रममा मैथिलीका गीत सङ्गीत बजाइन्थे भने मिथिलाका चाड–पर्वहरूका विषयमा चर्चा–परिचर्चा गरिन्थ्यो । यो कार्यक्रम रेडियो नेपालका मैथिली समाचार वाचकहरूद्वारा नै सञ्चालन गरिन्थ्यो । तर १५ मिनेटको सीमित समय र सरकारी मिडियाजन्य बन्धनहरूका कारण यस कार्यक्रमले निजी क्षेत्रका एफएमहरूसमेत प्रभावित हुनेगरी मैथिलीको स्थान बनाउन खास भूमिका निर्वाह गर्न सकेन ।
तथापि मैथिली भाषा–संस्कृतिका अभियन्ताहरूको प्रयासको परिणामस्वरूप निजी क्षेत्रको एफएममा पहिलो पटक २०५८ सालको साउन १६ गते साप्ताहिक एक घण्टाको हिसाबले एचबीसी एफएम ९४ मेगाहर्जमा मैथिली कार्यक्रमको प्रवेश भयो । चौबटिया नामक उक्त कार्यक्रम धीरेन्द्र र रूपा झाद्वारा सञ्चालन गरिन्थ्यो । यो कार्यक्रम एक महिनाकै समयावधिमा राजधानी काठमाडौँमा रहेका मैथिलहरूको बीचमा परिचित र लोकप्रिय बन्यो ।
चौबटिया कार्यक्रमले राजधानीमा रहेका मैथिली भाषाभाषी र भाषा–प्रेमीहरूलाई मातृभाषामा सूचना र मनोरञ्जन प्राप्त गर्ने साधन मात्र उपलब्ध गराएन, काठमाडौँ र अन्य सम्भाव्य ठाउँमा पनि मैथिलीसहित मधेशका भाषामा कार्यक्रम सञ्चालन गर्ने हौसला जन्मायो । फलस्वरूप चौबटिया सञ्चालनको समाचार साउन २६, २०५८, तदनुसार ९ अगस्त २००१ मा कान्तिपुर र द काठमाडौँ पोस्ट पत्रिकामा प्रकाशित भएपछि मनकामना एफएम, हेटौडाबाट पत्रकार महेश दासले दलान नामक कार्यक्रम मैथिली भाषामा सुरु गरे । यस बीचमा काठमाडौँमा रेडियो सगरमाथाले पनि मिथिलायात्रा नामक आधा घण्टाको कार्यक्रम थाल्यो । यस कार्यक्रममा उद्घोषण नेपालीमा गरेर गीतहरू भने मैथिली र भोजपुरीका बजाइन्थे । यसका लागि कार्यक्रम सञ्चालक मोहनकुमार सिंहले रेडियो सगरमाथालाई ६ महिनासम्मको लागि प्रायोजक खोजिदिएर पनि सघाएका थिए ।
मैथिली कार्यक्रमहरूको लोकप्रियता झनै बढ्दै गएको देखिएपछि काठमाडौँ उपत्यकाका साथै सम्पूर्ण मिथिला क्षेत्रमा सुनिन थालेको कान्तिपुर एफएमले पनि मैथिली कार्यक्रम सुरु गर्यो
। धीरेन्द्र र रूपा झाद्वारा सञ्चालित कान्तिपुर एफएमको हेल्लो मिथिला कार्यक्रमले मैथिली कार्यक्रमको लोकप्रियतालाई उत्कर्षमा पुर्यायो । यस समयमा मनोज झा ‘मुक्ति’ले पनि पहिले एचबीसी र पुनः इमेज एफएमबाट मैथिली गुञ्जन नामक कार्यक्रम सञ्चालन गर्न थाले । त्यसपछि काठमाडौँका विभिन्न एफएमबाट मैथिली कार्यक्रमहरू आउन थाले । यस क्रममा हृदयकान्त झा र ममता पण्डितद्वारा सञ्चालित अप्पन मिथिला (अध्यात्म ज्योति एफएम) र सरोज खेलाडीद्वारा सञ्चालित मिथिलाञ्चल (मेट्रो एफएम) आफ्ना विशेष प्रस्तुतिका कारण चिनिएका थिए । पछि प्रवीण चौधरी ‘प्रतीक’, धीरेन्द्र झा ‘मैथिल’, अमरकान्त ठाकुर ‘अमर’, राजकुमार यादव, राकेशकुमार देव, रवि साह, अर्चना महतो, कमल मण्डल, रश्मि झा, वीरेन्द्र ठाकुर र अन्य धेरै युवा पनि विभिन्न एफएममा कयौँ मैथिली कार्यक्रम सञ्चालनमा संलग्न भए ।
राजधानी काठमाडौँमा सञ्चालित मैथिली कार्यक्रमहरूको लोकप्रियताबाट के प्रमाणित भयो भने मैथिली भाषा सूचना र मनोरञ्जन दिने कार्यमा पूर्णतः सक्षम र सफल छ । यसको प्रयोगबाट अर्थोपार्जन पनि राम्रोसँग गर्न सकिने आधारहरू पनि यी कार्यक्रमहरूले देखाइदिए र यसबाट मूल मिथिला क्षेत्रका जनताको ध्यान पनि आकर्षित गर्न सके । जब लाइसेन्स दिने प्रक्रिया सर्वसुलभ भयो, मिथिलाको केन्द्र जनकपुरधाममा एकैचोटि अनेकौँ रेडियोहरू स्थापित भए । मैथिली कार्यक्रमहरूको लोकप्रियताका कारण बन्दै आएको विश्वास र ठूलो जनआन्दोलनबाट प्राप्त लोकतन्त्रले मिथिला क्षेत्रका सबैजसो रेडियोहरूको प्रमुख भाषा मैथिली नै बन्न पुग्यो । आजको दिनमा मिथिलाको भाषिक र सांस्कृतिक सीमालाई समेट्ने क्षेत्रमा एक सयको हाराहारीमा रेडियोहरू स्थापित छन्, जसका माध्यमबाट मैथिली श्रव्य सञ्चार प्रचुर रूपमा फस्टाएको छ ।
यद्यपि तराई मधेशमा पनि समग्र अवस्थालाई सन्तोषजनक मान्न सकिन्न । नेपालका प्रमुख सहरहरूमध्ये काठमाडौँ उपत्यका, पोखरा, सुर्खेत, धरानबाहेक प्रायः सबैजसो तराईमा पर्दछन् । तर मेचीदेखि महाकालीसम्मकै तराई क्षेत्रको कुरा गर्ने हो भने विभिन्न शहरमा सञ्चालित एफएमहरूले तराई–मधेश र त्यहाँका रैथानेहरूलाई केन्द्रित गरेर खासै कार्यक्रमहरू सञ्चालन गरेको पाइँदैनथ्यो । राज्यको पुरानो एकात्मक शासन प्रणालीले प्रक्षेपण गरेको खसवादी राष्ट्रवादलाई नै आधार मानेर विभिन्न रेडियोहरू सञ्चालित देखिन्थे । राजनीतिक सन्दर्भमा यो कुरा पछिल्ला दिनमा केही फरक देखिए तापनि भाषा, संस्कृति र तिनमा प्रयुक्त जनशक्तिहरूलाई समेत हेर्दा अवस्था र चिन्तनमा खासै फरक आएको देखिँदैन थियो । कतिसम्म भने मधेशीबहुल वीरगञ्ज जस्तो ठाउँमा स्थापित एफएमहरूसमेत उही पुरातन मानसिकतामै चल्ने गरेका थिए । त्यहाँको प्रमुख भाषा भोजपुरी भएर पनि एक चौथाइ कार्यक्रमसमेत कुनै एफएममा भोजपुरी भाषामा आउँदैनथे ।
विराटनगरमा रहेका एफएमहरू सुनिने क्षेत्रमा पनि आधा जनसङ्ख्या मैथिली भाषाभाषीको छ । यसैगरी थारू, राजवंशी, झाँगड, सन्थाल जस्ता मधेशी जनजातिको सङ्ख्या पनि पर्याप्त छ । तर तिनको कार्य प्रक्रिया पनि आफूलाई समावेशी देखाउने नाममा एकाधवटा इतर खसभाषीय कार्यक्रम राख्नु सम्ममा मात्र सीमित छ । बुटवल, दाङ, नेपालगञ्ज र कैलालीका एफएमहरूमा पनि स्थानीय भोजपुरी/अवधि तथा थारू भाषामा कार्यक्रमको अवस्था उही अक्षता छर्केजस्तो छ । तराईका अन्य कुनै पनि ठाउँको रेडियो सुन्नासाथै यो अवधि, भोजपुरी वा थारू क्षेत्रको रेडियो हो भनेर बुझ्ने कुनै ठोस आधार फेला पर्दैन । यस्तोमा समग्र मिथिला र जनकपुर परिक्षेत्रका एफएमहरूले मात्र स्थानीय माटो र मुटुको भाषा र भावना प्रयोग गरेर लोकतन्त्रको मर्मलाई चरितार्थ गर्ने दिशामा आफूलाई सशक्त ढङ्गले अगाडि बढाएका छन् ।
जनकपुरका एफएमहरूले लोकतन्त्रको मर्मलाई चरितार्थ गर्नेमात्र नभई सङ्घीयताको पूर्वाधार तयार गर्ने सन्दर्भमा पनि महत्वपूर्ण भूमिका र उदाहरण प्रस्तुत गरेका थिए । राजनीतिक बहसका रूपमा सङ्घीयता र त्यसको स्वरूपले प्रवेशै पाउन नसकेको अवस्थामा पनि जनकपुरका एफएमहरूले त्यसलाई एक किसिमले व्यवहारमै ल्याइसकेका थिए । देशको अन्य भागका कुनै मानिसले जनकपुर पुगेर त्यहाँका रेडियोहरूको कार्यप्रक्रिया र त्यसबाट त्यहाँको जनजीवनमा परेको प्रभावलाई हेर्दा आफू नेपाल देशको मिथिला प्रदेशमा आइपुगेको सहजै आभास पाउन सक्थे । भलै त्यसले राजनीतिक स्वरूप ग्रहण गर्ने बेलामा मिथिला नामले साकार रूप लिन पाएन, तर पनि त्यस प्रदेशको अन्तर्यमा अहिले पनि मिथिला नै जीवन्त रहेको पाउन सकिन्छ । कुनैपनि राज्य वा राष्ट्रलाई आकार दिने काम भूगोल र राजनीतिले गर्छ भने त्यसलाई सुदृढता प्रदान गर्ने अनि सिँगार्ने काम भाषा–संस्कृति र त्यसप्रति जनतामा रहेको गौरवानुभूतिले गर्दछ । यस प्रकार मैथिली भाषा–संस्कृतिको समुन्नत परम्पराको निरन्तरतालाई पछ्याउँदै जनकपुरे रेडियोहरूले नयाँ नेपालको मिथिलाको राजधानीका रूपमा जनकपुरलाई सिँगार्ने काम गरिरहेका छन् । गणतन्त्रलाई सुदृढ र सङ्घीयतालाई साकार रूप दिने काममा जनस्तरबाटै उठाइएको यो एउटा अग्रगामी कदम थियो ।
यस्तो सार्थक र सकारात्मक अवस्था आउनुमा यसपूर्वको समयमा काठमाडौँबाट सञ्चालित मैथिली कार्यक्रमहरूले मिथिलावासीमा जगाएको भोक र मिथिला क्षेत्रका रेडियो सञ्चालकहरूमा पलाएको आत्मविश्वासको ठूलो भूमिका रहेको मानिन्छ ।
भाषाभाषी सञ्चारको मियो यद्यपि रेडियो नेपाल
मैथिलीलगायत तराई–मधेशका भाषाहरूको विस्तारमा एफएम रेडियोहरूको उल्लेख्य भूमिका रहेतापनि समग्रमा यिनीहरूको मियो भने रेडियो नेपाल नै बनिरह्यो । एफएमहरूका कार्यक्रमको फैलावट परालको आगो सरह रह्यो भने रेडियो नेपालको यात्रा सुस्त तर अनवरत जारी रह्यो । यसलाई भूसको आगोको उपमा पनि दिन सकिन्छ । आज संघीय राजधानीमा केन्द्र राखी राष्ट्रिय प्रसारणकै समानान्तरमा रहेका मिडियाहरूको कुरा गर्ने हो भने रेडियो कान्तिपुरमा मात्र मैथिली कार्यक्रम रहेको छ । हेल्लो मिथिला नामबाट उक्त मैथिली कार्यव्रmम अविच्छिन्न रूपमा २४ वर्षदेखि साप्ताहिक रूपले सञ्चालित छ । बाँकी सबैजसो बन्द भइसकेको अवस्था छ । मिथिला क्षेत्रमै रहेका एफएमहरूमा अहिले पनि भाषिक–सांस्कृतिक सद्भाव त पाइन्छ तर प्रतिबद्धतामा बिटुलोपन आउँदै गएजस्तो देखिन्छ । कारण के हो भने पछिल्ला समयमा अधिकांश रेडियोहरू केन्द्रबाट निर्माण गरिने समाचार तथा कार्यक्रमहरूको रिले वा प्रसारण केन्द्रको हैसियतमा सीमित हुन पुगेका छन् । कार्यक्रम उत्पादनको क्रम शून्यमा झरेको छ भन्दा पनि साह्रै अमिल्दो हुँदैन होला ।
रेडियो नेपालमा विविध भाषाका समाचार सुरु भएपछि अन्य भाषामा रहेको प्रतिबन्ध जस्तो स्थितिको अन्त्य भयो । मानिसले आ–आफ्नो भाषामा रेडियोले प्रसारण गर्ने समाचारको अनुवाद सुन्न थाले । तर जीवनका सुखदुख, हाँसो रोदन, गीत/सङ्गीत, कलासंस्कृति आदिसम्बन्धी कुनै कार्यक्रम भने सुन्न पाएका थिएनन् । यस्तैमा रेडियो नेपालबाटै २०५४ साल असारदेखि मैथिली, भोजपुरी, अवधि, थारू, तामाङ, नेपाल भाषालगायतका भाषामा एक–एकवटा साप्ताहिक कार्यक्रम प्रारम्भ गरिए । जम्मा १५ मिनेटका ती कार्यक्रमहरूमा प्रायः आ–आफ्नो मातृभाषाका गीत बजाउने र समसामयिक चाडपर्वका कुरा गर्ने गरिन्थे । खासगरी तराईका भाषाका यस्ता कार्यक्रमहरूमा मठमन्दिरहरूको परिचय, तीर्थाटनका साथै सांस्कृतिक कुरा पनि समाविष्ट हुन्थे । ती कार्यक्रमहरू सम्बन्धित भाषाका समाचारवाचकहरूले नै चलाउनुपर्थ्यो । यसका लागि कुनै किसिमको अतिरिक्त सुविधा दिइएको थिएन । यसले गर्दा सञ्चालकहरूमा त्यतिसारो उत्साह देखिँदैनथ्यो । छोटो समयावधि, सञ्चालकहरूमा स्वतन्त्रता भाव तथा यथेष्ट उत्साहको कमीले गर्दा ती कार्यक्रमहरूले जनमानसमा खासै प्रभाव पार्न नसके पनि सरकारी सञ्चारमाध्यमबाट आइरहेको कार्यव्रmम भएकोले त्यसको ऐतिहासिक महत्व केही विशेष अवश्य नै रहेको मान्न सकिन्छ ।
तत्कालीन समयमा रेडियो नेपाल भनेको सरकारले प्रायोजन र नियन्त्रण गर्ने गरेको सञ्चारमाध्यम भएकोले त्यसका सञ्चारसम्बन्धी गतिविधिहरू उकुस मुकुसपूर्ण थिए । यसको अभीष्ट जनचाहनालाई सम्बोधन गर्नेभन्दा बढी सरकारलाई खुशी पार्ने दिशामा केन्द्रित हुन्थ्यो । तराई–मधेशका भाषाहरूको प्रसारणमा लोक रिझाउने तत्त्व खासै नभएको हुँदा ती कार्यव्रmमहरू प्रायः झाराटराइमा सीमित हुन्थे ।
त्यसैले त्यहाँबाट प्रसारित कार्यक्रमहरू पछिल्लो समयका प्रतिस्पर्धात्मक र श्रोताका लागि विकल्पहरू प्रशस्त भएको समयमा लोकप्रिय हुन गाह्रो थियो । यस्तोमा प्रस्तोताले अतिरिक्त समय र श्रम खर्चेर आफ्नो वर्ग, क्षेत्र, समुदायका लागि कार्यक्रममा ज्यान भर्ने प्रयत्न गर्न सक्थे । तर त्यस्ता निजी प्रयास पनि चाहिँदो मात्रामा हुन नसकेकोले देशमा अनेकौँ एफएम स्थापना भइसक्दा पनि ती कार्यक्रमले तराईका भाषामा कार्यक्रम गर्न/गराउन प्रारम्भिक समयमा अन्य कुनै रेडियोलाई ईर्ष्यालु बनाउन वा प्रेरित एवं मार्गदर्शन गर्न सकेका थिएनन् ।
तर यो भनेको आजभन्दा दशक अघिसम्मको कुरो हो । यतिखेर धेरै चहकिला नभए पनि अनेकथरी सञ्चार दीपहरू अनवरत बालिराख्ने काम रेडियो नेपालले नै गरेको छ । अब रेडियो नेपाल सामुदायिक प्रसारणमा गइसकेको परिवर्तित र आशावादी अवस्था पनि छ । यस्तोमा यसका बाटाहरू पनि प्रशस्त भएका छन् । हाम्रो देशको सम्पदा भन्नु नै यहाँका वानस्पतिक, प्राकृतिक तथा सांस्कृतिक विविधताहरू हुन् । तर दुर्भाग्य भन्नुपर्छ,–यी सम्पदालाई नै अन्यथा बुझ्ने मानसिकता हामीकहाँ अहिलेसम्म व्याप्त छ । वस्तुतः देशलाई यथार्थ समृद्धिको गोरेटोमा डोर्याउने हाम्रा संसाधन भनेकै यिनै विविधताहरू हुन सक्दछन् । रेडियो नेपालले सामुदायिक प्रसारणको स्वरूप ग्रहण गरिसकेपछि समुदायको ढुकढुकी र सम्बद्ध भाषा–संस्कृतिलाई सच्चा संरक्षण दिने दिशामा आफ्ना कार्यक्रमहरूमा स्थान दिँदै जाने हो भने समुदायको मनोबल बढ्ने मात्र नभई देशको समृद्धिका लागि दिगो आधारशिला तयार पार्ने दिशामा पनि महत्वपूर्ण योगदान पुर्याउन सक्दछ ।
– लेखक साहित्यकार, सञ्चारकर्मी र संस्कृतिकर्मी हुनुहुन्छ ।
प्रतिक्रिया राख्नुहोस्