भाँचिएको पुल सञ्चालनका लागि चन्दा सङ्कलन गरिने
उदयपुर । २०६७ सालमा तीन बर्ष भित्र सम्पन्न हुने गरि उदयपुरको त्रियुगा नदीमा निर्माण सुरु गरिएको मोटरेवल पक्की पुल सम्पन्न नहुँदा सो क्षेत्रका स्थानीयहरू बर्षाको समयमा जोखिम मोलेर वारिपारि गर्न बाध्य हुँदै आएका छन् ।

उदयपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा रहेको चौदण्डीगढी नगरपालिका ५ शिवाई र बेल्हा जोड्ने उक्त पुलमा पटक पटक मन्त्री देखी मन्त्रालयका सचिव र पुल विभागका महानिर्देशक सम्मले स्थलगत अवलोकन गरेर जनतालाई पुल बन्ने आश्वासन दिएको भएपनि अहिले सम्म पुल सम्पन्न हुन नसक्दा स्थानीयहरू आक्रोशित हुन थालेका छन् ।
नेपालीमा एउटा उखान नै छ धेरै बिरला भए मुसा मार्दैनन् भन्ने हो त्यस्तै भएको छ त्रियुगा नदीको मोटरेवल पक्की पुल को अवस्था । बिगत १४ बर्ष अघि २०६७ सालमा तीन बर्ष भित्र सम्पन्न गर्ने गरि निर्माण सुरु गरिएको उदयपुरको चौदण्डीगढी नगरपालिका ५ शिवाई र बेल्हा जोड्ने त्रियुगा नदीको पक्की पुल अहिले सम्म सम्पन्न हुन सकेको छैन । यो पुल निर्माण गर्न स्थानीय सबै नेता राज्यको कार्यकारी प्रधानमन्त्री सम्म पुगे, यस क्षेत्रका सांसद पटक पटक मन्त्री बने तर “ धेरै बिरला भए मुसा मार्दैनन् भने झैँ“ पुल निर्माणको कार्य सम्पन्न भएन ।
पुल निर्माण सुरु गरिएको १२ बर्ष पछि सम्पन्न हुँदै लाग्दा २०७८ साल असार १९ गते त्रियुगा नदीमा आएको बाढीले पुलको एउटा भाग बगाएको थियो । ३ सय ७ मिटर लम्बाइ रहेको १२ वटा पिलर र ११ वटा स्ल्याब रहेको पुलको दक्षिण पश्चिम क्षेत्र शिवाई पट्टी रहेको पहिलो र दोस्रो पिल्लर नदीमा भासिएपछि पुल दुई टुक्रा भएको हो ।
सुरुमा ९ करोड ७६ लाख रुपैयाँ लागत इस्टिमेट रहेको पुल समयमा काम नसकिएपछि मूल्य समायोजन गर्दै लाँदा पुल को लागत मूल्य ११ करोड २७ लाख पुगेको थियो । राज्यले यति ठुलो लगानी गरेर पनि अहिले पुल भाँचिएको अवस्थामा अलपत्र रहेको छ ।
निर्माण सुरु गरिएको १४ बर्ष र पुल भाँचिएको मात्रै पनि ५ बर्ष हुँदा पनि पुल कहिले बन्ने कसरी बन्ने भन्ने टुङ्गो नहुँदा स्थानीयहरू जनस्तर बाटै वैकल्पिक उपाय मार्फत पुल सञ्चालन गर्ने तयारीमा जुटेका छन् ।
गएको भदौ ६ गते प्रतिनिधि सभामा सांसदहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले भाँचिएको पुलको निर्माणका लागि नयाँ नक्साको डिजाइन स्वीकृत भइसकेको र पुल नयाँ डिजाइनमा बन्ने बताउनु भएको थियो तर अहिले सम्म पुल बन्ने नबन्ने केही टुङ्गो नभएपछि स्थानीयहरूले नै चन्दा सङ्कलन गरेर वैकल्पिक उपायमा सञ्चालनमा ल्याउने तयारी गरेका हुन ।
शुक्रबार स्थानीय राजनीतिक दलका प्रतिनिधिहरू, जनप्रतिनिधिहरू उद्योग वाणिज्य संघका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि सञ्चारकर्मी लगायतको भेलाको आयोजना गरिएको थियो उक्त भेलाको उद्देश जनस्तर वैकल्पिक उपायको खोजी गरि पुल सञ्चालन गर्नु रहेको वडा अध्यक्ष तुलसी ढकालले बताउनुभयो
राज्यले बिगत १४ बर्ष यता पटक पटक पुल निर्माण छिट्टै सम्पन्न गर्ने भन्दै आफूहरूलाई झुक्क्याएको हुँदा अब आफ्नै बलबुताले राज्यको मुख ताकेर हैन जनस्तरमा नै चन्दा सङ्कलन गरेरै भए पनि वैकल्पिक उपायसहित पुल सञ्चालन गरि जनतालाई आवतजावतमा सहजता गराउनु पर्ने माग गर्नुभयो
शनिबार भएको सर्वदलीय, सर्वपक्षीय भेलाले स्थानीय देवनारायण चौधरीको संयोजकत्वमा बाँध निर्माण समिति गठन गरेको छ । उक्त समितिले जन स्तरमा चन्दा सङ्कलन गरेर पुल भाँचिएको भाग पुर्ने र बाँध निर्माण गरेर तत्काल साना सवारी आवतजावत हुने उपाय तय गर्ने तयारी गरेको बताइएको छ ।
२०६७ साल मा पुलको निर्माणको जिम्मा महालक्ष्मी/लोकप्रिय जेभी कलङ्कीले लिएको थियो। डिजाइन र माटो परीक्षण बालाजु काठमाडौँ स्वाइल कन्सल्टेन्सीले गरेको थियो ।
राज्य लाग्दा समेत बन्न नसको पुल स्थानीयले सङ्कलन गरेको चन्दाबाट वैकल्पिक रुपमा सञ्चालन होलाकी नहोला राज्यले समयमै ध्यान दिन जरुरी छ ।







प्रतिक्रिया राख्नुहोस्