कोरोना महामारीमा रेडियो नेपालको व्यवस्थापन रणनीति

काठमाडाैँ । परिचय– चीनको वुहान सहरबाट सुरु भएको कोरोना सङ्क्रमणले अझै पनि बेला बेला विश्वलाई तरङ्गित पार्ने गरेको छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने कोरोना भाइरस विश्वमा तीव्र गतिमा फैलिएपछि महामारीको रूप लियो र विश्व नै छोटो समयमा प्रभावित बन्न पुग्यो । कोरोनाका कारण उद्योगधन्दा, व्यापार व्यवसायसँगै आमसञ्चार माध्यम र नेपाली पत्रकारिता क्षेत्र गम्भीर रूपमा प्रभावित भयो । यसबाट रेडियो नेपाल पनिटाढा रहन सकेन ।
महामारीको समयमा सञ्चार माध्यम र पत्रकारहरूको मुख्य काम भनेको महामारी सङ्क्रमण नियन्त्रणका लागि सही सूचना प्रवाह गर्ने, जनचेतना जगाउने र अफवाह फैलननदिने हो । सञ्चार माध्यमबाट कुनै पनि अफवाहपूर्ण प्रचार वा गलत सूचना प्रवाह भएमा त्यसको प्रभाव कोरोना सङ्क्रमणभन्दा अझ बढी पर्न सक्दछ । महामारी र विपद्को समयमा पत्रकारहरूको परिचालन र सुरक्षाका लागि रेडियो नेपालसँग लिखित रूपमा कुनै रणनीति नरहेको भएपनि २०७२ सालको भूकम्पमा लिएको जस्तै रणनीति अवलम्बन गरेर कोरोना महामारीको समयमा पनि प्रसारणलाई निरन्तरता दियो ।
रेडियो नेपालले २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पको समयमा प्रसारण क्षेत्रमा कार्यरत आफ्ना पत्रकार र प्राविधिक कर्मचारीलाई कार्यालयमा नै राखेर २४ सै घण्टा प्रसारण गरेको थियो । २०७६ चैत ११ देखि कोरोना महामारी सुरु भएपछि प्रारम्भमारेडियो नेपालले २४ सै घण्टा आफ्नो प्रसारणलाई सञ्चालन गरी जनचेतनामूलक सूचना समाचार तथा कार्यक्रमका अतिरिक्त प्रत्यक्ष प्रसारण र विषय विज्ञहरूसँगको कुराकानीलाई विशेष महत्व दियो ।
समसामयिक विषयवस्तु कोभिड १९ र यसको खोपसम्बन्धी कुराकानी, कोभिडबाट सुरक्षितरहने उपाय र जनचेतनामूलक सामग्रीलाई विशेष महत्वका साथ रेडियो नेपालले निरन्तर प्रसारणगरिरह्यो । नेपाल सरकार, सरोकारवाला मन्त्रालय र विभाग तथा कार्यालयहरूले महामारीको समयमा अङ्गीकार गरेको नीति नियम र अभियानहरूलाई रेडियो नेपालले प्रत्यक्ष प्रसारण तथा समाचार-कार्यक्रमहरूको माध्यमबाट जनचेतना अभिवृद्धि गर्न सहयोग पुर्याएको थियो । यसबाट आम श्रोता लाभान्वित भएका थिए । महामारीको समयमा रेडियो नेपाले दिएको स्वास्थ्यसुरक्षासम्बन्धी जानकारी र सूचनाबाट आफूहरूलाई सकारात्मक प्रभाव पारेकोटेलिफोनबाट आम श्रोताको प्रतिक्रिया समेत थियो ।
रेडियो नेपालले भूकम्प, कोरोना,बाढी पहिरो, डुबान, आगलागी जस्ता विपद्, महामारी र सङ्कटको समयमा प्रसरणलाई निरन्तरता दिँदै उद्धार, राहत, जनचेतना, सुरक्षालगायतका विषयलाई प्रसारणमा प्राथमिकता दिने गरेको छ ।
लकडाउनमा रेडियो नेपालले गरेको समय व्यवस्थापन
कोरोना महामारी विश्वव्यापी रूपमा फैलिएपछि गरिएको पहिलो चरणको लकडाउनको सुरुवाती दिनमा रेडियो नेपालले पत्रकार र कर्मचारीलाई आलोपालो गरी कार्यालय आउने व्यवस्था गरेको थियो । लकडाउन सुरु भएको चौथो दिन चैत १५ गतेदेखि नै कार्यालयमा नै निश्चित पत्रकार र प्राविधिकहरू राखेर रेडियो सञ्चालन गर्ने नीति तय गरी रेडियो नेपालले प्रसारण अगाडि बढायो । सामान्य अवस्थामा तोकिएको समयमा कार्यालय आउने र घर जाने मात्रै व्यवस्था रहेकोमा विशेष परिस्थितिमा विशेष व्यवस्था गरेर कार्यालयमा नै बस्ने व्यवस्था गरियो ।
कोरोना महामारीको समयमा अन्य गतिविधि कम हुने र विशेष गरी कोभिड–१९ सम्बन्धी तिविधिमा नै रिपोर्टिङ केन्द्रित गरिएको थियो । उक्त समयमा स्वास्थ्य मन्त्रालयले गर्ने लाइभ अपडेटको समाचार बनाउने र पठाउने, कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले गर्ने निर्णयहरूको समाचार तयार गर्ने, मन्त्रिपरिषद् बैठक र त्यहाँबाट भएका निर्णयहरूबारे समाचार बनाउने, कोभिडबारे जानकारी दिने, स्वास्थ्यकर्मी लगायतसँग कुरा गरेर आम श्रोतालाईसचेत बनाउने खालका रिपोर्ट तयार गर्ने, कोभिड नियन्त्रण र रोकथामका उपाय समेटिएकासरकारी तथा स्वास्थ्यकर्मीहरूका अन्तरवार्ता लिने र जिल्ला रिपोर्टरहरूले पठाएका रिपोर्टसम्पादन गर्ने आदि कामलाई प्राथमिकता दिएको थियो । घरबाट नै रिपोर्टिङ गरेर सम्भव नदेखिएपछि लकडाउन सुरु भएको करिब डेढ महिनापछि फेरि केही पत्रकार रप्राविधिकहरूलाई आलोपालो गरी कार्यालय आउने र घर जाने व्यवस्था गरियो ।
कोरोना महामारीका कारण गरिएको लकडाउनको समयमा पनि रेडियो नेपालले समयमा नै तलब उपलब्ध गराएको थियो । कोरोना कालमा रेडियो नेपालमा सामान्य अवस्थामा भन्दा विज्ञापन र सन्देशमूलक सूचना बढेका थिए र कोरोनासम्बन्धी कार्यक्रम थप भएका कारण आर्थिक रूपमा झनै सहज भएको देखिन्छ ।
कार्यस्थलको सुरक्षाका लागि लिइएको रणनीति
आलोपालो रूपमा कार्यालय आउँदा जाँदा पनि बाहिर सम्पर्क हुने भएपछि रेडियो नेपालले प्रसारणमा संलग्न पत्रकार र कर्मचारीलाई क्वारेन्टिन जस्तै गरेर कार्यालय परिसरभित्र नै बस्ने व्यवस्था गरिएको थियो । सो अवधिमा तोकिएका व्यक्ति मात्रै कार्यालयमा बस्ने,बाहिरका मान्छे भित्र आउन नदिने र भित्र रहेका कर्मचारी बाहिर नजाने व्यवस्था गरिनुले सुरक्षित महसुस भएको थियो । कार्यालय परिसरमा रहेको क्यान्टिनमा नै आफ्नै निगरानीमा खाना खाजा बनाउने र खुवाउने व्यवस्था गरी पत्रकारलाई क्यान्टिनदेखि आवास र स्टुडियोसम्म मात्र जान दिइएको थियो ।
कार्यालयमा नै बसेर कार्यक्रम तथा समाचार प्रसारण कार्यमा संलग्न हुँदामहिलाहरूका लागि सामूहिक रूपमा छुट्टै बस्ने कोठा र पुरुष पत्रकारहरूका लागि छुट्टै कोठाकोव्यवस्था गरिएको थिए जसले थप सुरक्षित महसुस गराएको थियो । कार्यालयमा बसेका पत्रकार सुरक्षित हुनुपर्छ भन्नेमा रेडियो नेपाल सचेत देखिन्थ्यो भने विपद्को समयमा रेडियो नेपालले विशेष व्यवस्था गरेर सामाजिक उत्तरदायित्व निर्वाह गर्न हर प्रयास गरेको थियो ।
कर्मचारीको स्वास्थ्यप्रतिको सजगता
कार्यालयमा स्वास्थ्य सुरक्षाका लागि साबुन पानी, सेनिटाइजर र मास्कको व्यवस्था गरिएको थियो । कोरोनाबाट बच्ने उपाय व्यक्ति–व्यक्तिबिच भौतिक दुरी कायम गर्ने, साबुन पानीले पटक–पटक हात धुने र स्यानिटाइजरको प्रयोग गर्ने कुरामा तोकिएको स्वास्थ्य मापदण्ड पूरा गर्न र सुरक्षाका उपाय अपनाइयो । उक्त समयमा रेडियो नेपालले कार्यालयको ढोकामा
सेनिटाइजर राख्ने, कार्यकक्षमा सेनिटाइजर छर्कने, हात धुनका लागि साबुन पानीको व्यवस्था गर्ने, बाथरुममा पर्याप्त पानीको व्यवस्था र दैनिक सरसफाइ गर्न त्यस समयमा दुईजना कार्यालय सहयोगीलाई पनि कार्यालयमा नै बस्ने व्यवस्था ग¥यो । उनीहरूले नै सरसफाइका सम्पूर्ण काम गर्नुका साथै कार्यालयको ढोकामा सेनिटाइजर राख्ने, कार्यकक्ष तथा स्टुडियोमा सेनिटाइजर छर्कने, सरसफाइ गर्ने, हात धुनका लागि साबुन पानीको व्यवस्था गर्ने गरेका थिए । यसबाट कार्यालयमा काम गर्ने क्रममा थप सुरक्षित महसुस भयो ।
स्वास्थ्य सुरक्षा व्यवस्थापन र स्टुडियोको प्रयोग
रेडियो नेपालमा एउटा कार्यक्रम सकिने बित्तिकै लगत्तै त्यही स्टुडियोमा अर्को व्यक्ति नपस्ने र अर्को कार्यक्रमका लागि फरक स्टुडियोको प्रयोग गर्ने व्यवस्था गरियो । एउटा स्टुडियोमा एउटा कार्यक्रम वा समाचार सकिएपछि अर्को कार्यक्रम वा समाचारका लागि कम्तीमा १५ मिनेटसम्म त्यस स्टुडियोमा प्रवेशका लागि समय अन्तर कायम गरिएको थियो । उक्त समयमा दिनमा दुई पटक बिहान र बेलुका स्टुडियो र कार्यालयमा सेनिटाइजर छर्कने व्यवस्था गरिएको थियो भने प्रसारणमा खटिने प्रसारक आफैँले सेनिटाइजर बोक्ने र माइक, कम्प्युटर तथा किबोर्डमा छर्कने व्यवस्था थियो ।
निष्कर्ष
कोरोनाको समयमा रेडियो नेपालले आफ्नो प्रसारणलाई निरन्तरता दिनका लागि विभिन्न रणनीतिहरू अवलम्बन ग¥यो । लिखित दस्ताबेजका रुपमा कुनै रणनीति तर्जुमा नगरिएको भएपनि आकस्मिक रूपमा आइपरेको महामारीको समयमा व्यावहारिक रुपमा तत्कालै विभिन्न खालका रणनीतिहरू अवलम्बन गरी आफ्नो प्रसारणलाई निरन्तरता दिएर सामाजिक उत्तरदायित्व बहन गर्न रेडियो नेपाल सफल भएको मान्न सकिन्छ । रेडियो नेपालले आकस्मिक रूपमा आएको कोरोना महामारीको समयमा पनि पत्रकारको सुरक्षामा ध्यान दिनु, समयमा तलब उपलब्ध गराउनु र पत्रकार तथा कर्मचारीहरूलाई काम गर्न उत्प्रेरित गरिराख्नुलाई सकारात्मक पक्ष मान्न सकिन्छ । कोरोना जस्तो महामारी र विपद्हरू जुनसुकै समयमा आउन सक्ने भएका कारण रेडियो नेपालजस्ता आमसञ्चार माध्यमहरूले विपद्सम्बन्धी स्पष्ट रणनीति तर्जुमा गरी पूर्व तयारी अवस्थामा रहनु आवश्यक देखिन्छ ।
(लेखक सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका संवाददाता हुनुहुन्छ )
प्रतिक्रिया राख्नुहोस्