राजतन्त्र पुनः स्थापित गर्ने प्रयास व्यर्थ हुनेछ : उपप्रधानमन्त्री पौडेल
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजतन्त्र पुनः स्थापित गर्ने प्रयास व्यर्थ हुने बताउनुभएको छ ।

आज रिपोर्टर्स क्लब नेपालको २७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाँले राजतन्त्रले आफ्नो उपादेयता आफैँ समाप्त गरिसकेकाले अब नेपालमा कहिल्यै राजतन्त्र नफर्किने जिकिर गर्नुभयो ।
उपप्रधानमन्त्री पौडेलले २०५८ सालको दरबार हत्याकाण्डपछि नै राजतन्त्रको औचित्यमाथि प्रश्न उठ्न थालेको उल्लेख गर्दै जनआन्दोलनपछि राजतन्त्र समाप्त भएको स्पष्ट पार्नुभयो । राजसंस्थाको पुनरुत्थानको पक्षमा भइरहेका गतिविधिप्रति कटाक्ष गर्दै उहाँले भन्नुभयो, “राजतन्त्र ब्युँताउनु भनेको श्मशान घाटबाट मुर्दा फर्काउनुजस्तै हो ।”
अर्थमन्त्री पौडेलले शुक्रवारको प्रदर्शनलाई सङ्केत गर्दै राजतन्त्रका हिमायतीहरूको वास्तविक चरित्र उदाङ्गो भइसकेको बताउनुभयो । “यिनीहरू लुटपाट, हत्या र हिंसाको पक्षमा छन्, त्यो मुखुण्डो उत्रिसकेको छ । अब यिनीहरूलाई ठिक ढङ्गले चिन्न जरुरी छ”, उहाँले भन्नुभयो ।
लोकतन्त्रको रक्षा गर्न सरकार दृढ रहनुपर्नेमा जोड दिँदै अर्थमन्त्री पौडेलले जनताका आशा र अपेक्षालाई ठिक ढङ्गले पूरा गर्न सरकार खरो रूपमा उभिने र यसमा सबै पक्षबाट योगदान आवश्यक रहेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्