पत्रकार हत्या र सञ्चार गृहमाथि आक्रमणको विरोधमा पत्रकारहरू
कञ्चनपुर । पत्रकार हत्या र सञ्चार गृहमा भएको आक्रमणको विरोधमा देशभर आन्दोलन चर्किरहेको छ । नेपाल पत्रकार महासङ्घको आह्वानमा महासङ्घका शाखा, पत्रकार सम्बद्ध सङ्घसंस्था, सञ्चारमाध्यम तथा पत्रकारहरू विरोध प्रदर्शनमा उत्रिएका छन् ।

यसै क्रममा, कञ्चनपुरको दक्षिणी क्षेत्रमा कार्यरत पत्रकारहरूले आइतबार बेलौरीमा पत्रकार सुरेश रजकलाई न्यायको माग तथा सञ्चार गृहमाथिको आक्रमणको विरोधमा नाराबाजीसहित कोणसभा गरेका छन् । बेलौरीको भीमदत्त चोकमा आयोजित विरोध कार्यक्रममा पत्रकारहरूले कालोपट्टी बाँधेर ऐक्यबद्धता जनाएका छन् ।
नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा कञ्चनपुरका सहसचिव किशोर कुमार तामाङका अनुसार उक्त विरोध कार्यक्रममा पत्रकारिता स्वतन्त्रताको रक्षा र दोषीलाई कडा कारबाहीको माग गरिएको छ । विरोध कार्यक्रममा महासङ्घका सदस्य, पत्रकार तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासङ्घ शाखा कञ्चनपुरका सदस्य धनबहादुर बिकले गर्नुभएको थियो । विरोधका क्रममा सञ्चारकर्मीमाथि भइरहेका आक्रमणलाई रोक्न सरकार र सम्बन्धित निकायले तत्काल कदम चाल्नुपर्ने माग गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्