पत्रकारमाथि आक्रमण र सञ्चार गृहमा तोडफोडको बिरोधमा बिरगंजमा बिरोध प्रदर्शन

बीरगंज । नेपाल पत्रकार महासङ्घ पर्सा शाखाको आयोजनामा पर्सेली सञ्चारकर्मीहरूले आज राजसंस्थाको पुनःस्थापनाको माग राख्दै भएको आन्दोलनका क्रममा सञ्चारकर्मीमाथि आक्रमण, सञ्चार गृहमा तोडफोड र आगजनीको विरोधमा वीरगन्जमा प्रदर्शन गरेका छन् ।
नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष ओम प्रकाश खनालको नेतृत्वमा वीरगन्जको घण्टाघरबाट निकालिएको विरोध र्याली नगर परिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष श्याम बञ्जाराले सञ्चारकर्मीमाथि आक्रमण र सञ्चार गृहमा तोडफोड अस्वीकार्य भएको बताउनुभयो ।
उहाँले दोषीलाई अविलम्ब कानुनी कारबाहीको दायरामा ल्याउन र कडा सजाय दिन माग गर्दै नेपालका सञ्चारकर्मीले हिंसात्मक आन्दोलनको समर्थन कुनै पनि हालतमा गर्न नसक्ने बताउनुभयो ।
बिरोध र्यालीमा नेपाल पत्रकार महासङ्घ, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस सङ्गठनलगायतका संस्थाहरूको सहभागिता रहेको थियो ।
कोणसभामा वक्ताहरूले हिजो काठमाण्डौमा एक सञ्चारकर्मीलाई जिउँदै जलाइएको घटनाको कडा भर्त्सना गर्दै स्वतन्त्र प्रेसको सम्मान गर्न, सञ्चारकर्मीको सुरक्षामा ध्यान दिन र निर्बाध रुपमा समाचार सङ्कलनको वातावरण सुनिश्चित गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्