तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरमा कोशी प्रदेश स्तरीय ‘योजना बैङ्क’ निर्माण सुरु 

भोजपुर  । भोजपुरमा कोशी प्रदेश स्तरीय आयोजना बैङ्क निमार्ण कार्य सुरु गरिएको छ ।

प्रदेश सरकारबाट सञ्चालन हुने योजनाहरूलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले योजना बैङ्क निर्माण सम्बन्धी अभिमुखीकरण गरिएको हो । अभिमुखीकरण कार्यक्रम मार्फत आगामी बर्ष जिल्ला सञ्चालन हुने योजनाहरूको प्रस्ताव गरिएको छ । प्रदेश सरकारले बजेटमा व्यवस्थित ढंगले योजना समेट्नका लागि प्रदेश निर्वाचन क्षेत्रको आधारमा आयोजना बैङ्क निर्माण प्रक्रिया सुरु गरेको प्रदेश योजना आयोगका सदस्य सिताराम बस्नेतले जानकारी दिनुभयो । 

आयोजना बैङ्क निर्माणले योजनाहरू कार्यान्वयनमा सहज हुने उहाँको भनाइ छ । ‘विकास निर्माणलाई व्यवस्थित, दीर्घकालीन सँगै आयोजनालाई विधिसम्मत बनाउन आयोजना बैङ्क निर्माण गरेका हौँ ’ उहाँले भन्नुभयो ‘हाल सम्म कोशी प्रदेशको १९ ठाउँमा योजना छनोटको विषयमा अभिमुखीकरण गरि सकेका छौ, यसले योजना छनोट प्रक्रिया पारदर्शी बनाउने छ । पहुँचका आधारमा योजना छनोट गर्ने परम्पराको अन्त्य गर्न आयोगले यो अभियान सञ्चालन गरेको हो ।’

जिल्लाका दुईवटा प्रदेश निर्वाचन क्षेत्रलाई आधार मानेर आगामी आर्थिक वर्षका लागि योजना छनोट गरिएको हो । यसले योजना छनोट प्रक्रिया पारदर्शी बनाउनुका साथै पहुँचका आधारमा योजना छनोट गर्ने परम्पराको अन्त्य हुने कोशी प्रदेश सभा सदस्य तथा अर्थ समिति सभापति विनोद बान्तावाले बताउनुभयो । सांसद बान्तावाले भन्नुभयो  ‘ प्रदेश सरकारले जिल्लामा गएर स्थानीय तह र सरोकारवालासँग छलफल गरेर योजनाहरू बनाउने र त्यसलाई आयोजना बैङ्कमा राख्ने काम गरिएको छ,यसले हामीलाई पारदर्शी बनाउने र असारमा मन्त्रालय धाउनेले बजेट पाउने परम्परा पनि अन्त्य हुन्छ ।’

आयोगले प्रदेश सांसद, नौ वटै स्थानीय तहका प्रमुख–उपप्रमुख, सरकारी कार्यालय, राजनीतिक दल लगायत सरोकारवालासँग छलफल गरेर योजना प्रस्ताव गरेको हो । मुख्य रुपमा सडक, पुल खानेपानी, सिँचाइ, स्वास्थ्य शिक्षा कृषि, वन, पर्यटन प्रवर्धन, धार्मिक, सांस्कृतिक क्षेत्रलगायतका योजनालाई आयोजना बैङ्कमा समावेश गरिएको छ । योजना तर्जुमाले दिगो विकासमा टेवा पुग्नुका साथै योजना दोहोरिने समस्याको अन्त्य हुने कोशी प्रदेश सरकारका राज्यमन्त्री सिर्जना राईले बताउनभयो  । ‘विकास निर्माणलाई व्यवस्थित र दीर्घकालीन बनाउन आयोजना बैङ्क आवश्यक छ, राज्यमन्त्री राईले भन्नुभयो ‘हामीलाई थितिमा बाँध्न पनि यो चाहिन्छ, प्रदेश सरकार योजनाबद्ध विकासमा जुटेको छ । 

आयोजना बैङ्कमा समावेश हुने पूर्वाधार विकासका ५० लाख रुपैयाँ देखि माथिका योजना समावेश गर्ने नीति सरकारको छ । सरकारले सडक तथा पुलको न्यूनतम २ करोडको, पर्यटन प्रवर्द्धन सम्बन्धि पूर्वाधारमा १ करोड, धार्मिक, सांस्कृतिक क्षेत्रको पूर्वाधार, झोलुङ्गे पुल, सिँचाइ लगायतका आयोजनाको ५० लाख रुपैयाँसम्मको योजनालाई आयोजना बैङ्कमा समेट्ने तयारी गरेको प्रदेश योजना आयोगले जनाएको छ ।  त्यो भन्दा ठूला आयोजना केन्द्र सरकारले र साना योजना स्थानीय तहले सञ्चालन गर्ने जनाइएको छ । अभिमुखीकरण कार्यक्रममा पूर्वाधार विकास,सडक, खानेपानी सिचाई, कृषि वन तथा वातावरण घरेलु उद्योग लगायतका योजनामा बढी बस्ता आएको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले बताउनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button