विकास सुरु गर्नुअघि रिसर्च जरुरी : मन्त्री गुरुङ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले विकासका कार्य प्रभावकारी र सफल बनाउन अनुसन्धानको पाटोसँगै लैजानुपर्ने धारणा राख्नुभएको छ ।

काठमाडौँमा आज नेपाल फेमिली कोर्ट स्टडीले आयोजना गरेको कार्यक्रममा नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले नेपालमा विकास गर्नु अघिको वास्तविकता खोजी नहुँदा विकास हचुवाको भरमा हुने अवस्था आएको बताउनुभयो । कुन ठाउँमा के विकास गर्ने, कसरी गर्ने र त्यसको दीर्घकालीन प्रभाव के हुन्छ लगायतका न्यूनतम आधारबारे जाँचबुझ नै नगरी विकासको योजना बनाउँदा धेरै असफल हुनुपरेको दृष्टान्त उहाँले दिनुभयो ।
शिक्षा, स्वास्थ्यको क्षेत्रमा त रिसर्च मेथड अति अनिवार्य रहेको मन्त्री गुरुङको धारणा छ । त्यस्तै, विभिन्न सङ्घसंस्थाले गरेको निश्चित विषयको अनुसन्धानले राज्यको नीति तथा कानुन निर्माणमा मार्गदर्शन गर्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामी कहाँ हचुवाको भरमा विकास हुन्छ । सम्बन्धित विषयमा रिसर्च गरेर योजना बनाउने अभ्यासको कमी छ ।” सरकारले बनाउने बजेट पनि योजनाविहीन हुने हुँदा अब आवश्यकता पहिचान गरी बजेटको सिलिङ निर्धारण गर्नुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा स्वास्थ्यसम्बन्धी अनुसन्धानात्मक गतिविधि र विभिन्न स्वास्थ्य अवस्थामाथि छलफल गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्