तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पाका अधिकांश चुनढुङ्गा खानी घर्मकाँटा बिनै सञ्चालन

पाल्पा । पाल्पामा सञ्चालन भइरहेको अधिकांश चुनढुङ्गा खानीहरुले घर्मकाँटा (तौल मेसिन) बिनै सञ्चालन गरेको पाइएको छ। खानी तथा भूगर्भ विभागले खानी स्थलमा तौल मेसिन राख्न निर्देशन दिएको भएपनि यहाँका अधिकांश खानीहरुले यसलाई पालना नगरेको भेटिएको हो। विभागले २०७९ सालको पुष १ गते देखि खानी स्थलमा अनिवार्य रूपमा तौल मेसिन राख्न निर्देशन दिएको थियो, तर जिल्लामा यस दिशानिर्देशको उल्लङ्घन भइरहेको छ।

सरकारलाई प्रतिटनका हिसाबले राजस्व बुझाउनुपर्ने प्रावधान भएपनि जिल्लामा यसलाई कार्यान्वयन गर्न सकिएको छैन। पारदर्शिता कायम राख्ने उद्देश्यले लागू गरिएको नीति भएपनि, खानी स्थलको अनुगमन तथा नियमनका अभावले सरकारलाई करोडौंको राजस्व घाटा भइरहेकाे छ। खानी विभाग, डिभिजन वन कार्यालय, जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयको अनुगमन कार्यमा भएका कमजोरीका कारण राजस्व चूवावट भइरहेको स्थानीयहरु बताउँछन्।

पाल्पाको १८ प्रतिशत क्षेत्र खानी क्षेत्रमा ओगटेको छ र यहाँबाट ठूलो मात्रामा चुनढुंगा र कोइला निकासी हुँदै आएको छ। तिनाउ गाउँपालिकाको हिउँदे खोलामा डोलोमाइट चुनढुंगा खानी, कञ्चन क्वरीज, र सर्वोत्तम सिमेन्ट उद्योगको खानीले धर्मकाँटा राख्न नपाउँदा मापदण्डभन्दा बढी उत्खनन् गरि राजस्व ठगी गरेको आरोप लागेको छ।

चिनियाँ लगानीको सबैभन्दा ठूलो होङशी सिमेन्ट उद्योग जो पूर्वी नवलपरासीको सर्दीमा संचालित छ । होङशी सिमेन्टले निस्दी गाउँपालिकाको ज्यामिरेबाट चुनढुंगा उत्खनन् गरी ढुवानी गर्दछ। निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुका अनुसार, होङशी सिमेन्टको खानीमा धर्मकाँटा भएपनि विद्युत र अन्य समस्याका कारण खानी सञ्चालनमा कठिनाइ परेको छ। होङशी सिमेन्टले स्थानीय सरकारलाई बुझाउने राजस्व आफ्नै हिसाबले बुझाउने गरेको उहाँ बताउनुहुन्छ ।

जिल्ला समन्वय समितिका अध्यक्ष टंकनाथ खनालले अनुगमन गर्ने प्रयास गरेपनि अन्य अधिकारीसँगको अधिकारको अभावका कारण समस्या भएको बताउनुभयाे। उहाँले भन्नभयाे, “हामीसँग कर लगाउन र कारवाही गर्ने अधिकार छैन, यसैले समस्यामा परेका छौँ।”

विभागले वार्षिक रूपमा कति मेट्रिक टन चुनढुंगा निकासी भएको तथ्यलाई ट्र्याक गर्न धर्मकाँटा अनिवार्य गरेको हो। क्षमता र अनुमति भन्दा बढी उत्खनन गर्नाले मापदण्ड विपरीत चुनढुंगा ढुवानी गर्दा राजस्व चूहावट हुने र वातावरणीय सन्तुलनमासमेत असर पर्ने स्थानीयको आरोप छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button