सेन्ट्रल प्लाजामा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा
सुनसरी । सुनसरीको इटहरी मुख्य चोकमा रहेको सेन्ट्रल प्लाजामा लागेको आगो ६ घण्टाको अथक प्रयासपछि नियन्त्रणमा आएको छ । इटहरीको १० तले सेन्ट्रल प्लाजामा भवनमा बिहान साँढे ९ बजेदेखि आगलागी भएको थियो ।

प्लाजाको पाँचौँ र छैटौँ तलामा बिहान साढे ९ बजेदेखि लागेको आगलागी ६ घण्टापछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरिक्षक योगराज खतिवडाले जानकारी दिए ।
आगलागी नियन्त्रणका लागि झापा, मोरङ र सुनसरीका गरी एक दर्जन बढी दमकल प्रयोग गरिएको थियो ।
यस्तै नेपाली सेना, सशस्त्र र जनपथ प्रहरी गरी ३ सय ५० जनाभन्दा बढी सुरक्षाकर्मी खटिएका थिए । आगलागी भएपछि उक्त भवनमा फसेका ११ जनाको उद्धार समेत गरिएको थियो ।
प्लाजाको विभिन्न तलामा फसेका ८ पुरुष र तीन महिला गरी ११ जनाको सकुशल उद्धार गरिएको थियो । तीन जनाको काठमाडौँबाट आएको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।
आगलागी भएको भवनमा होटेल, सिनेमा हल, बैङ्क, सुपर मार्केट, कपडाका पसल, मोबाइल तथा इलेकट्रोनिक्स पसलहरू सञ्चालनमा रहेका थिए ।
आगलागीको कारण भने खुल्न नसकेको र क्षतिको विवरण सङ्कलन भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
प्रतिक्रिया राख्नुहोस्