झापामा ८ महिनामा २५ क्षयरोगीको मृत्यु, ७ सय बढी रोगी थपिए
झापा । झापामा २५ जना क्षयरोगका बिरामीको मृत्यु भएको छ ।
चालू आर्थिक वर्षको साउनदेखि फागुनसम्म आठ महिनाको अवधिमा २५ जना क्षयरोगका बिरामीको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाका क्षयरोग फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिनुभयो । सोही अवधिमा सात सय जना नयाँ क्षयरोगी समेत फेला परेको उहाँले बताउनुभयो ।
गत आव २०८०/८१ क्षयरोगबाट सङ्ख्या ४८ जनाको मृत्यु भएको थियो ।
खकार परीक्षणबाट पत्ता लागेका ४१२ जना, एक्स–रेबाट १०२ जना र शरीरका अन्य भागमा क्षयरोग देखिएको १८६ जना गरी कूल सात सय जना नयाँ क्षयरोगी फेला परेको कार्यालयले जनाएको छ ।
जिल्लामा फोक्सोको क्षयरोगीको सङ्ख्या सबैभन्दा धेरै छ । क्षयरोगीको कुल सङ्ख्यामध्ये ४७१ जना फोक्सोका क्षयरोगी छन् । त्यस्तै, फोक्सोबाहेकका १६२ जना, टी.बी. र एचआईभी दुवै भएका ८ जना, औषधि प्रतिरोधी क्षयरोगका बिरामी (डिआरटीबी) १६ जना रहेको कार्यालयले जनाएको छ ।
झापामा आव २०७७/७८ मा ९९२, आव २०७८/७९ मा ११८६, आव २०७९/८० मा ११६५ र आव २०८०/८१ मा १२६५ जना नयाँ क्षयरोगी फेला परेका थिए ।
यसैबीच, झापामा विश्व क्षयरोग दिवस मनाइएको छ ।
स्वास्थ्य कार्यालय झापाको आयोजनामा हिजो झापा गाउँपालिकामा बिरामीलाई पोषण सामग्री वितरणसँगै सचेतनामूलक कार्यक्रम गरी दिवस मनाइएको हो । कार्यक्रममा झापा गाउँपालिकाका २८ जना क्षयरोगीलाई पोषण सामग्री वितरण गरिएको थियो । चना÷ मटर एक÷एक केजी र एक क्यारेट अण्डा वितरण गरिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्