तपाईँ सुन्दै हुनुहुन्छः

सशस्त्र प्रहरी र स्थानीयको सक्रियतामा नरैनापुरको वन डढेलो नियन्त्रण

बाँके। नरैनापुर गाउँपालिका–६ स्थित रामजानकी सामुदायिक वनमा लागेको डढेलो सशस्त्र प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा नियन्त्रणमा आएको छ।

कटकुया बिओपिबाट खटिएको सशस्त्र प्रहरीको टोलीले स्थानीयवासीसँगको सहकार्यमा मध्यराति डढेलो नियन्त्रणमा लिएको हो। वडा अध्यक्ष प्रेम मौर्यका अनुसार डढेलो नियन्त्रणका लागि प्रहरी नायब उपरीक्षक गजेन्द्र चन्दको नेतृत्वमा ३० जना प्रहरी परिचालन गरिएको थियो।

हिउँदे समय सुरु भएसँगै जिल्लाका विभिन्न सामुदायिक वनमा डढेलोको जोखिम बढेको छ। सशस्त्र प्रहरीले डढेलो नियन्त्रण र रोकथामका लागि स्थानीयस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए।

चैत्र-वैशाखमा वनजङ्गलमा डढेलोको जोखिम उच्च हुने भएकाले सशस्त्र प्रहरीले विशेष सतर्कता अपनाएको छ। “डढेलो लागेको थाहा पाउनेबित्तिकै नियन्त्रणका लागि नरैनापुरको सामुदायिक वनमा उत्तरदायी टिम गठन गरिएको छ,” चन्दले भने।

उनले वन डढेलो नियन्त्रणमा वन कार्यालय, सशस्त्र प्रहरी र स्थानीय सरोकारवालाको संयुक्त प्रयास आवश्यक रहेको बताए। “सर्वसाधारणले घर नजिकैको पातपतिङ्गर सफा गर्न डढेलो लगाउँदा वन क्षेत्रमा सल्किने गरेको छ,” उनले थपे।

प्रतिक्रिया राख्नुहोस्

Back to top button