तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकामा रामग्राम स्तूप,बुद्ध भूमि चिनाउँदै मेयर यादव

नवलपरासी,पश्चिम् । हाल अमेरिका भ्रमणमा रहनुभएका रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले त्यहाँ रहेका नेपालीहरूलाई रामग्राम स्तूप र बुद्ध भूमिका बारेमा जानकारी गराउँदै बुद्ध सर्किटको बिकास सँगै आफ्नो नगर भित्र रहेको बुद्धको एकमात्र अस्तुधातु रहेको रामग्राम स्तूपका बारेमा जानकारी गराउँदै यहाँको पर्यटन प्रवर्द्धनका विविध विषयमा विभिन्न छलफल तथा अन्तरक्रिया गर्नु भइरहेको छ ।

रामग्राम स्तूप बुद्ध स्थल मध्येको निकै महत्त्वपूर्ण स्थान भएर पनि ओझेलमा परेको बताउँदै विदेशमा रहेका नेपालीहरूले समेत रामग्राम स्तूप सहितका वुद्धस्थलको प्रचारप्रसार गर्नुपर्नेमा यादवले जोड दिनुभयो ।

नगर प्रमुख यादवले रामग्राम नगरपालिकाले रामग्राम स्तूप, पण्डितपुर लगायतका स्थलको विकासमा विशेष जोड दिएर पहल गरिरहेको बताउँदै एक पटक रामग्राम स्तूपको भ्रमण गर्न अमेरिकाबासी नेपालीहरूमा आग्रह पनि गर्नुभयो ।

“यहाँ रहेका सबै सरोकारवाला नेपालीहरू र उहाँहरू आबद्ध संघ सस्थाहरु सँग निरन्तर भेटघाट र छलफल गरि रामग्राम स्तूपको बिकास र प्रचारप्रसारमा टेवा पुर्‍याउन आग्रह गरेको छु,सकारात्मक पहल भएको छ आशावादी छु”नगरप्रमुख यादवले भन्नू भयो ।

अमेरिका भ्रमणको क्रममा रामग्राम नगर प्रमुख धनपत यादव सहित वुद्धपरिपथका पालिका प्रमुख र युलेस सिटि टेक्सासका मेयर लिन्दा मार्टिन, उपमेयर टीका पौडेल लगायत सँगको बैठकमा विविध विषयमा छलफल तथा निर्णय भएको नगरप्रमुख यादवले जानकारी दिनुभयो ।

छलफलमा नेपाली समुदायबाट टेक्सासमा विशेष गरी बुद्ध परिपथ लुम्बिनी प्रदेश नेपालका पालिकाहरू (कपिलवस्तु, लुम्बिनी सांस्कृतिक, देवदह, रामग्राम र तिलोत्तमा) र नेपालको पर्यटन प्रवर्द्धन, नेपाली धर्म संस्कृतिको संरक्षण तथा विकासका लागि Euless City मा स्थापित पशुपतिनाथ मन्दिर एवम् बुद्ध स्तुपा / विहार Euless City बाट निरन्तर सहयोग र सहकार्य गर्ने लगायतका विषयमा छलफल भएको बताइएको छ।

नगर प्रमुख यादवको सक्रियतामा मेरिल्यान्ड राज्यको वालड्रपमा अमेरिकामा बस्दै आएका नेपालीहरू बिच फुटबल प्रतियोगिता समेत भएको छ ।मेयर यादवले खेलाडीहरूलाई रामग्राम नगरपालिकाको लोगो, रामग्राम स्तूप बुद्धको अस्थीधातु रहेको स्थल लेखिएको स्तूपको चित्र अङ्कित जर्सी प्रदान गर्नुभएको थियो ।हरेक तह र क्षेत्रबाट रामग्राम स्तूपको प्रवर्द्धन गर्नु पर्ने उहाँले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button