बीमाङ्कीय विज्ञतासम्बन्धी अन्तरक्रिया सम्पन्न
काठमाडौँ । नेपाल बीमा प्राधिकरण र संयुक्त अधिराज्यस्थित बीमाङ्कीय संस्था इन्स्टिच्युट एण्ड फ्याकल्टी अफ एक्च्युरिज (आईएफओए) को सहभागितामा एक्च्युरियल सोसाइटी अफ नेपालद्वारा आज ललितपुरमा नेपालको बीमा क्षेत्रमा बीमाङ्कीय विज्ञताको विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।

नेपालमा बीमाङ्कीय विज्ञता विकासका सम्बन्धमा छलफल गरी सुझावहरू प्राप्त गर्ने उद्देश्यले नेपाल बीमा प्राधिकरण, आईएफओए, ग्लोबल एक्च्युरियल इनिसिटिभ, बीमक, एक्च्यिुरियल सोसाइटी अफ नेपाल र बीमाङ्कीय विश्लेषकहरूबिच अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमाङ्कीहरूको भूमिका विशेषगरी बीमा क्षेत्रमा व्यवसायको प्रकृति र जटिलताका कारण झनै महत्वपूर्ण रहेको बताउनुभयो ।
अध्यक्ष ओझाले बीमाङ्कीहरूको विज्ञता उजागर गर्न, बीमा व्यवसायलाई थप गति दिन र बीमितहरू ढुक्क हुने वातावरण निर्माण गर्न सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले कार्यक्रममा आउने नयाँ दृष्टिकोण र विचारहरू बीमाङ्कीय पेशालाई नयाँ उचाई दिन महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा क्षेत्रमा वित्तीय स्थायित्वलाई सुनिश्चित गर्न, प्रभावकारी रूपमा जोखिम व्यवस्थापन गर्न र दिगो वृद्धि हासिल गर्नका लागि बीमाङ्कीहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
कार्यकारी निर्देशक सुवेदीले नेपालमा बीमाङ्कीको न्यूनताका कारण देखिएका चुनौतीहरूलाई सम्बोधन गर्नका लागि प्राधिकरणले क्षमता अभिवृद्धि कार्यक्रम, अन्तर्राष्ट्रिय साझेदारी र नियामकीय सु-परीक्षणको सुदृढीकरण जस्ता कार्यलाई प्रवद्र्धन गर्दै आएको जानकारी दिनुभयो ।
आईएफओएका अध्यक्ष कार्टिना ताहिर थोम्सनले नेपालमा बीमाङ्कीय विज्ञताको विकासका लागि नेपाल बीमा प्राधिकरणबाट भएको प्रयास सह्रानीय रहेको उल्लेख गर्नुहुँदै यसका लागि आवश्यक सहयोग गर्ने तत्परता व्यक्त गर्नुभयो ।
ग्लोबल एक्च्युरियल इनिसिटिभ (जीएआईएन) का निर्देशक क्विनी चोउले बीमाङ्कीको दक्षता अभिवृद्धिका लागि प्राधिकरणसँग हुँदै आएको सहकार्यबाट आफूहरू उत्साहित रहेको बताउनुहुँदै आगामी दिनमा यस किसिमको सहयोगलाई अझै सघन रूपमा अघि बढाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल (अधिकारी) ले नेपालमा बीमाङ्कीय दक्षता अभिवृद्धिका लागि प्राधिकरणबाट भएका पहल र जीएआईएनसँगको आबद्धताबाट प्राप्त उपललब्धीहरूका बारेमा प्रस्तुती गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका पदाधिकारी, आईएफओएका पदाधिकारी, ग्लोबल एक्च्युरियल इनिसिएटिभका सदस्य, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका पदाधिकारी, ए्रक्च्युएरिल सोसाइटी अफ नेपालका सदस्य, त्रिभुवन विश्वविद्यालयका एक्च्यिुएरिल विज्ञानका विद्यार्थी र बीमा कम्पनी, लघुबीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका एक्च्यिुरियल प्रबन्धक र एक्च्युरियल विश्लेषकहरूको सहभागिता रहेको थियो ।







प्रतिक्रिया राख्नुहोस्