तपाईँ सुन्दै हुनुहुन्छः

पर्सा र चितवनमा चैते धान रोप्ने चटारो, किसानहरू व्यस्त

वीरगञ्ज । पर्सा र चितवनका ग्रामीण भेगका किसानहरूलाई यतिबेला चैते धान रोप्ने चटारो परेको छ।

पर्सा जिल्लाको ठोरी, जगरदेवागनी, पटेर्वासुगौली, सुख्खाप्रसौनी, पर्सागढी र वीरगञ्जका केही वडाहरूमा चैते धान रोप्ने काम सुरु भएको कृषि ज्ञान केन्द्र पर्साले जानकारी दिनुभयो।

हिउँदे बाली काटेर खाली भएका खेतहरूमा किसानहरूले चैते धानको रोपाई सुरु गर्नुभएको छ। जगरदेवागनी गाउँपालिका वडा नम्बर २ काठमाडौँटोलका रामेश्वर साहले फागुनमा ब्याडमा राखेको बेर्ना तयार भएपछि अहिले रोपाई सुरु गर्नुभएको बताउनुभयो।

अन्य बाली लगाएर खेत खाली नभएका किसानहरूले पनि बेर्ना राखिसकेको र अन्य बाली काटेर तुरुन्तै रोपाई सुरु गर्ने साहले जानकारी दिनुभयो। ठोरी गाउँपालिकाका किसान देवीप्रसाद दहालले पनि चैते धान रोप्ने काम धमाधम भइरहेको बताउनुभयो। चैते धान रोप्न किसानहरू व्यस्त रहेको उहाँले जानकारी दिनुभयो।

पर्सा जिल्लामा यस वर्ष करिब २० हजार हेक्टर क्षेत्रफलमा चैते धान लगाउने तयारी भएको कृषि ज्ञान केन्द्र पर्साले जानकारी दिनुभएको छ। त्यसैगरी, चितवनको माडी क्षेत्रमा पनि चैते धान रोप्ने काम तीव्र गतिमा भइरहेको छ। माडी नगरपालिका वडा नम्बर ८ का किसान प्रेमप्रसाद भण्डारीले माडीमा चैते धान रोप्ने काम सुरु भएपछि किसानहरूलाई चटारो परेको बताउनुभयो। माडी नगरपालिका वडा नम्बर ८ मा मात्रै करिब ४ सय बिघामा चैते धान रोपाई भइरहेको भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button