बागलुङमा ८ महिनामा १ सय ७९ क्षयरोगी फेला
बागलुङ । बागलुङमा पछिल्लो ८ महिनामा १ सय ७९ जनामा क्षयरोग लागेको पुष्टि भएको छ ।
चालु आर्थिक वर्षको ८ महिनामा ६४ जना महिला र एक सय १४ जना पुरुष गरी एक सय ७९ जनालाई सङ्क्रमण पुष्टि भएको जिल्ला प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका क्षय कुष्ठ रोग निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।
बागलुङका १० पालिकामध्ये सबैभन्दा धेरै ढोरपाटन नगरपालिकामा क्षयरोगका बिरामी फेला परेका छन् । ढोरपाटन नगरपालिकामा ४३, बडिगाड गाउँपालिकामा ३८, गलकोट नगरपालिकामा २८, बागलुङ नगरपालिकामा २७, निसीखोला गाउँपालिकामा १४, जैमिनी नगरपालिकामा सात, ताराखोला गाउँपालिकामा चार, तमानखोला गाउँपालिकामा तीन, बरेङ गाउँपालिकामा चार र जैमिनी नगरपालिकामा सात जना क्षयरोगका बिरामी रहेको घिमिरेले जानकारी दिनुभयो ।
बागलुङमा निको हुने दर ९० दशमलव ४ प्रतिशत रहेको निरीक्षण घिमिरेले बताउनुभयो । उहाँले बागलुङको चार पालिकालाई क्षयरोग मुक्त पालिका बनाउने लक्ष्यका साथ अभियान सुरु भएको बताउनुभयो ।
धूम्रपान र मद्यपान गर्नेलाई सङ्क्रमण बढी हुने देखिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका निमित्त प्रमुख घनश्याम सापकोटाले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्