तपाईँ सुन्दै हुनुहुन्छः

दाङका उदाहरणीय कृषक भिमकान्त भन्नुहुन्छ– कृषिमा युवालाई आकर्षित गर्नुपर्छ

दाङ । घोराही उपमहानगरपालिका–१७ बाउन डाँडाका ६२ वर्षीय भिमकान्त चापागाईँ गोलभेँडा खेती गरी आर्थिक रूपमा सक्षम र सफल बन्नुभएको छ । 

उहाँले पाँच बिगाहा जमिनमा गोलभेँडा खेती गरी वार्षिक रूपमा १० देखि १२ लाख रुपैयाँ बचत गर्न सकेको बताउनुभयो ।

व्यावसायिक गोलभेँडा खेतीबाट अब्बल किसानका रूपमा चिनिन सफल हुनुहुन्छ चापागाईँ । उहाँको गोलभेँडा खेती यो क्षेत्रकै नमूना पनि बनेको छ, जसले उपभोक्ता मात्र होइन देख्ने जति सबैलाई लोभ्याउने गर्दछ । उहाँको बारीमा अहिले लटरम्म फलेका गोलभेँडा कतै पाकेका छन्, केही पाक्ने तयारीमा छन् ।

त्यही गोलभेँडा खेतीले उहाँलाई एक सफल एवम् उत्कृष्ट किसानको परिचय दिएको छ । आफूलाई एक सफल कृषकका रूपमा स्थापित गर्न उहाँले धेरै मेहेनत पनि गर्नुभएको छ ।

विस २०७५ मा रू ४ लाखको लगानीमा अरूको जमिन भाडामा लिएर सो खेती सुरु गरेको बताउने चापागाईँ अहिलेसम्म गोलभेँडा खेतीमा रू‍‍. २० लाखको हाराहारीमा लगानी गरेको बताउनुहुन्छ ।  जमिन भाडामा लिएर उहाँले उन्नत जातका गोलभेँडाका साथै अरू विभिन्न जातका बेमौसमी तरकारी खेती गरिरहनु भएको छ । 

वार्षिक प्रतिकट्ठा तीन हजारका दरले उहाँले जमिनको भाडा तिर्नुपर्छ । उहाँको कृषि फारममा अहिले छ जनाले रोजगारी पनि पाएका छन् । उहाँ भन्नुहुन्छ– सबै खर्च कटाएर वार्षिक १२ लाखसम्म बचत गर्न सकेको छु ।

उहाँकी श्रीमती पनि यसै व्यवसायमा लाग्नुभएको छ । दुई छोरा भने कामका लागि जिल्ला बाहिर छन् । एक वर्षमा गोलभेँडा खेतीबाटै यति कमाई गर्न सक्नु सामान्य कुरा होइन । उहाँ भन्नुहुन्छ, “म आफ्नो व्यवसायबाट सन्तुष्ट छु, खुसी छु । आफ्नै माटोमा खेलेको छु, माटोको माया बढ्दो छ ।” अहिले उहाँलाई बारीमै आएर ग्राहकहरूले गोलभेँडा खुर्सानी लगायतका तरकारी किनेर लग्दा आनन्द आउने गरेको सुनाउनुहुन्छ । 

बर्दियाको गेरूवा गाउँपालिका–३ पर्सेनीमा स्थायी घर रहेका उहाँको खेतीयोग्य जमिन पनि छ । पर्याप्त मात्रामा सिचाइको सुविधा पुगेको छ तर बजार अभाव र तरकारी खेतीका लागि आवश्यक पर्ने तापक्रमका कारण आफू खेती गर्नका लागि यहाँ आएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “दाङमा  धेरै नजिकका आफन्त रहेका र आफन्तहरूले गरेको गोलभेँडा तथा तरकारी खेती देखेपछि आफू यस खेतीतर्फ आकर्षित भई सुरुवात गरेको हुँ । सुरुमा घोराहीस्थित मसिनामा एक बिघा जमिन भाडामा लिएँ । त्यहाँ गोलभेँडा खेती गरेँ ।”

खेतीका लागि आवश्यक पर्ने जमिन अपुग भई साँघुरो भएपछि त्यहाँ छाडेर विगत पाँच वर्षदेखि यस ठाउँमा खेती सुरु गरेको हुँ ।” उहाँले अन्य जातका तरकारी भन्दा गोलभेँडा खेतीबाट धेरै लाभ लिन सकिने र एकपटक रोपेपछि लामो समयसम्म फल्ने र आम्दानी लिन सकिने भएकाले धेरै जमिनमा गोलभेँडा खेती गरेको बताउनुभयो । 

चापागाईँले गोलभेँडासहित काँक्रो, खुर्सानी, बोडी, सिमी लगायतका तरकारी पनि लगाउनुभएको छ । उत्पादन भएको तरकारी लिन फार्ममै थोक व्यापारीहरू पुग्ने गरेका छन् । उहाँले अहिले टमाटरको सिजन भएकाले प्रतिकेजी रू ३० मा बिक्री गर्नु परेको दुःखेसो पोख्नुभयो । यसअघि गोलभेँडा प्रतिकेजी रू। ९० देखि १०० सम्म बिक्री हुने गरेको थियो । 

उहाँको बारीको गोलभेँडा दाङका विभिन्न बजार, बुटवल, पोखरा, नेपालगञ्ज लगायतका शहरमा जाने गरेको छ । उहाँले कृषिप्रधान हाम्रो देशमा कृषिको अत्यन्तै राम्रो सम्भावना रहेको तर राज्य भने अझै पनि यस क्षेत्रका समस्या समाधानमा गम्भीर नभएको गुनासो गर्नुभयो । 

कृषिमा देशको अर्थतन्त्रको ठूलो योगदान रहेको भए पनि पछिल्लो समयमा कृषि उत्पादन अथवा कृषिजन्य वस्तुहरू बाहिरबाट आयात गर्नु दुःखद हो, चापागाईं भन्नुहुन्छ । उहाँ नेपालमा तरकारी तथा कृषिजन्य उत्पादनहरू आयात गर्ने कामलाई निरुत्साहित गर्नुपर्ने सुझाव दिनुहुन्छ । 

राज्यले समयमा नै कृषिलाई आत्मनिर्भर बनाउने कार्यक्रम ल्याउनुपर्ने यस क्षेत्रका दक्ष जनशक्ति विदेश पलायन भइरहेको अवस्थालाई रोक्नुपर्ने पनि उहाँले सुनाउनुभयो । “देशभित्रै सीपमूलक कृषि कार्यक्रम सञ्चालन गर्नुपर्ने र विदेशिने युवालाई लक्षित गरेर स्वदेशमै रोक्न एकीकृत कृषि व्यवसाय फारम सञ्चालनमा ल्याउनु पर्दछ ।” 

आफ्नै माटोमा पसिना र पौरख पोख्न सके सुन फल्छ भन्दै श्री चापागाईं बर्सेनि कामका लागि विदेशिने युवालाई आफ्नै माटोमा पसिना पोख्न सुझाउनुहुन्छ । “हाम्रो धर्ती मलिलो छ, यहीँ रोपौँ जे पनि फल्छ, कामका लागि विदेशिनु पर्दैन ।”

सरकारले खेती किसान गर्ने मानिसलाई वातावरण निर्माण गरिदिन, आवश्यक ऋण सकेसम्म सस्तोमा दिन र उत्पादित वस्तुको बजार सुनिश्चित गरिदिन सरकारसँग उहाँले आग्रह पनि गर्नुभयो । रासस /नारायणी रजौरे

प्रतिक्रिया राख्नुहोस्

Back to top button