आइसिसी यु–१९ विश्वकप छनोट : नेपालले दिल्लीसँग अभ्यास खेल खेल्ने
काठमाडौँ । आइसिसी यु–१९ विश्वकप छनोटको तयारीमा रहेको नेपालले भारतको प्रान्तीय टिम दिल्लीसँग अभ्यास खेल खेल्ने भएको छ । यु–१९ विश्वकप एसिया छनोट अप्रिल १२ देखि २१ सम्म काठमाडौँमा हुने तय छ ।
छनोटमा आयोजक नेपालसहित अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) ले सहभागिता जनाउने छन् । त्यसैको तयारी स्वरूप नेपालले दिल्लीसँग तीन अभ्यास खेल खेल्न लागेको नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार जानकारी दिएको हो ।
क्यानका अनुसार चैत १२ देखि १६ गतेसम्म हुने खेल पर्साको वीरगञ्जस्थित नारायणी क्रिकेट रङ्गशालामा हुनेछ । त्यसपछि यही टोलीले चैत २१ गतेदेखि अफगानिस्तानको यु–१९ टोलीसँग तीन खेलको सिरिज खेल्ने छ । सबै खेल माथिल्लो मूलपानी क्रिकेट मैदानमा हुने क्यानले जनाएको छ ।
नेपाली टोलीलाई मुख्य प्रशिक्षक शक्ति गौचनले प्रशिक्षण दिइरहेका छन् । क्यानले यसअघि नै नरेन भट्टलाई कप्तानी जिम्मेवारी सुम्पिसकेको छ ।
प्रतिक्रिया राख्नुहोस्