तपाईँ सुन्दै हुनुहुन्छः

अन्तरपालिका भलिबल : शनिवार सेमिफाइनल  

भोजपुर । भोजपुरमा चैत्र ७ गतेबाट सुरु दोस्रो मेयर कप आमन्त्रित अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता अन्तर्गत शनिवार सेमिफाइनल खेल सञ्चालन हुने छ । शुक्रवारको प्रतिस्पर्धा सकिएसँगै शनिवार हुने सेमिफाइनल खेलमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र भोजपुरका तीन पालिका प्रवेश गरेका छन् । 

सेमिफाइनल अन्तर्गतको पहिलो खेल षडानन्द नगरपालिका भोजपुर र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका बीच हुने आयोजक जिल्ला भलिबल संघका महासचिव सङ्ग्राम किराँतीले जानकारी दिनुभयो । यस्तै दोस्रो खेल भोजपुर नगरपालिका र रामप्रसाद राई गाउँपालिका बीच हुने छ । 

सदरमुकाममा रहेको स्थानीय टुँडिखेलमा सञ्चालन भई रहेको प्रतियोगितामा नेपाली सेनाको भोजपुरमा रहेको श्री नयाँ श्रीनाथ गण, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, अरुण गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका र रामप्रसाद राई गाउँपालिका गरी सात टिमको सहभागिता थियो । 

भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा विजेता टिमलाई नगद एक लाख २० हजार र उपबिजेतालाई नगद ६० हजार प्रदान गरिने छ । यस्तै सेमिफाइलिष्टलाई नगद ३० हजार, सर्वोकृष्ट खेलाडीलाई नगद १० हजार प्रदान गरिने छ । प्रतियोगिताका उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट सर्भरलाई पनि नगद चार प्रदान गरिने छ भने सहभागी टिमहरूलाई पनि १० हजार दिइने महासचिव किराँतीले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button