गुल्मी अस्पतालबाटै मृगौला डायलाइसिस सेवा पाउँदा सेवाग्राही खुशी
गुल्मी । गुल्मीका मृगौला पीडित बिरामीहरू डायलाइसिस गराउन पाल्पा, बुटवल, काठमाडौँ र भारतको दिल्लीसम्म धाउनुपर्ने बाध्यता थियो । हाल डेढ वर्षदेखि गुल्मीमा सञ्चालन भइरहेको मृगौला डायलाइसिस सेवा थप प्रभावकारी बन्दै गइरहेको छ ।

गुल्मी जिल्लाबाट मृगौला पीडित बिरामीलाई पटक पटकको उपचार, आवतजावत र सहयोगी समेतमा लाग्ने खर्चले बिरामीको उठिबास लाग्ने अवस्था थियो । तर अहिले जिल्लामै मृगौला पीडित बिरामीहरू डायलाइसिस सेवाले धेरै राहत दिएको छ । एक जना बिरामीले साप्ताहिक कम्तीमा दुई पटक, बढीमा डायलाइसिस गराउने बिरामीहरूले तीन पटक वा दैनिक जसो गराइरहेका छन् । गुल्मी अस्पतालमा हाल बिहान र दिउँसो गरी दुई चरणमा सेवा प्रवाह भइरहेको छ । गुल्मी अस्पतालमा मृगौला डायलाइसिस सेवा हाल १८ जनाले लिइरहेका छन् ।
जसमा १७ जना गुल्मी र एक जना अर्घाखाँचीका बिरामी छन् । यो सेवा लिन वा मृगौला डायलाइसिस गराउन उपचारमा मात्रै एक पटकको तीन हजार पाँच सय लाग्ने गर्दछ । तर, अहिले मृगौला डायलाइसिसका बिरामीले निःशुल्क सेवा पाइरहेका छन् । यसरी गुल्मी जिल्लाको सदरमुकाम तम्घासमै निःशुल्क मृगौला डायलाइसिसको सेवा पाउँदा स्थानीय बिरामी मालिका गाउँपालिका ६ निवासी रेनुका अधिकारीले बताउनुभयो । निःशुल्क डायलाइसिस सेवा लिएका बिरामीका आफन्तले राहात महशुस भएको रेसुङ्गा नगरपालिका ९ निवासी ध्रुवराज पन्थीले बताउनुभयो ।
एक पटकको डायलाइसिसका लागि चार घण्टाको समय लाग्ने गर्दछ । गुल्मी अस्पतालमा हाल एक पटकमा चार जनाले मृगौला डायलाइसिस गराउँदै आएको गुल्मी अस्पतालका मृगौला डायलाइसिस सेवा इन्चार्ज धना पार्कीले बताउनुभयो ।
गुल्मी स्थायी ठेगाना भई अन्यत्र मृगौला डायलाइसिस गराउनेको सङ्ख्या एक सय ३२ जना रहेको छ । जसमा हाल १८ जना बिरामी गुल्मी फर्किएर सेवा लिएका छन् । मृगौला डायलाइसिस सेवाले गुल्मी अस्पताल पनि थप अब्बल र स्वास्थ्य सेवाको स्तरमा पनि सकारात्मक सन्देश दिएको रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले बताउनुभयो ।
गुल्मी अस्पतालमै रेसुङ्गा नगरपालिकाको पहलमा विशेषज्ञ डा. सहितको हाडजोर्नी सेवाले पनि गुल्मी र अर्घाखाँचीका धेरै नागरिकले सेवा लिएका छन् ।
प्रतिक्रिया राख्नुहोस्