बबई नाकामा एएनपीआर क्यामेरा जडान
सुर्खेत । कर्णाली प्रदेश सरकारले बबई सीमा नाकामा सवारी निगरानीका लागि एएनपीआर क्यामेरा जडान गरेको छ ।
आज सुर्खेतको बबईमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले एक कार्यक्रमका वीच सवारी निगरानीका लागि एएनपीआर क्यामेरा जडान कार्यको विधिवत् उद्घाटन गर्नुभएको हो ।

अब नाका क्षेत्रमा ‘एएनपिआर क्यामरा विथ स्पिड डिटेक्सन क्यामरा’ ले तोकिएको भन्दा बढी गतिमा गुड्ने गाडीको फोटो खिचेर नियन्त्रण कक्षमा पठाउने तथा त्यसलाई हेरेर ट्राफिक प्रहरीले कारबाही गर्नेछ । एएनपीआर क्यामराको उद्घाटन गर्दै उहाँले उपकरण सञ्चालन गर्नु मात्र ठूलो उपलब्ध नहुने हुँदा यसको उचित व्यवस्थापनसँग उद्देश्य प्राप्तिका लागि सबैको सकारात्मक प्रयास आवश्यक रहेको औँल्याउनु भयो ।

उहाँले आधुनिक प्रविधिको प्रयोग र उपयोगिता ढिलैभएपनि अब प्रदेशभरि कार्यान्वयनमा ल्याउने कार्यमा प्रदेश सरकारले अग्रता लिएको जानकारी दिनु भयो । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव पुष्पराज शाहीले सवारी साधनको तीव्र गति तथा दुर्घटना नियन्त्रणका साथै नाका क्षेत्रमा हुने अपराधलाई नियन्त्रण गर्न एएनपीआर क्यामेराले सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो ।
उहाँले प्रदेश सरकारको पौने दश लाख लगानीमा निर्माण गरिएको एएनपीआर क्यामेराले गाडीको ‘अटोमेटिक नम्बर प्लेट रिकग्निसन सिस्टम विथ डिटेक्स’ गर्ने कार्य शुरु गरिसकेको जानकारी दिनु भयो । उहाँका अनुसार यसरी सडकमा जडान गरिएका क्यामरा (उपकरण) ले तीव्र गतिमा गुडिरहेको गाडीको पहिचान गरी त्यसको अभिलेख ट्राफिक प्रहरी कार्यालयको नियन्त्रण कक्षमा रहेका सर्भरमा पुर्याउने गरेको छ । प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले एएनपीआर क्यामरा सहायताले अब ट्राफिक प्रहरीलाई चौबिसै घण्टा सडकमा उभिनु नपर्ने बताउनु भयो । उहाँले सडक र सडकमा गुड्ने सवारी साधनको सबै गतिविधि एएनपीआर क्यामेराले गर्ने हुँदा यसको सबै डाटा सर्भरमा रेकर्ड हुने जनाउनु भयो ।
उहाँका अनुसार बबई नाकाको गतिविधि (रेकर्ड) अब सिधै प्रदेश प्रहरी कार्यालयसँगै जिल्ला ट्राफिक कार्यालयसम्म पुग्नेछ । कार्यक्रमका सुर्खेत काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेशकुमार सापकोटाले एएनपीआर क्यामेरा जडानबाट नाकामा ट्राफिक चेकजाँचमा हुने ढिलाइ अब अन्त्य हुनुका साथै नयाँ प्रविधिको सहयोगले यात्रुसँगै सवारी साधनलाई समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो ।
उहाँले बबई नाकामा मात्र सीमित नराखेर प्रदेशका दशै वटै नाकामा एएनपीआर क्यामेरा जडान गर्न प्रदेश सरकारसँग माग गर्नु भयो ।
प्रतिक्रिया राख्नुहोस्