तपाईँ सुन्दै हुनुहुन्छः

चार करोड खर्च गरेर बनाइएको केन्द्र प्रयोगविहीन

तनहुँ। जिल्लाको व्यास नगरपालिका–१३ स्थित सुडेको पुल नजिक निर्माण गरिएको मलमूत्र व्यवस्थापन केन्द्र सात वर्षदेखि प्रयोगविहीन छ ।

शौचालयबाट निस्किएको मलमूत्रलाई ‘ट्रिटमेन्ट’ गरी मलका रूपमा प्रयोग गर्ने उद्देश्यले विसं २०७४ मा निर्माण गरिएको सो केन्द्र प्रयोगविहीन भएको हो । तत्कालीन साना सहरी तथा खानेपानी आयोजनाले सरसफाइ कार्यक्रमअन्तर्गत रु १२ करोड विनियोजन गरेको थियो । जसमा दमौली बजार क्षेत्रमा आठ किलोमिटर पक्की नाला निर्माण, फोहर व्यवस्थापनका लागि व्यास नगरपालिकालाई एक थान टिपर, सार्वजनिक शौचालय निर्माण र मलमूत्र व्यवस्थापन रहेको थियो ।

उक्त मलमूत्र व्यवस्थापनका लागि मात्रै करिब चार करोड लगानी भएको दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका व्यवस्थापक अमर गिरीले जानकारी दिनुभयो । नेपाल सरकारको ८५ र १५ प्रतिशत स्थानीय तहको लगानीमा मलमूत्र व्यवस्थापन केन्द्र निर्माण गरिएको हो । निर्माण कम्पनी रमण कन्स्ट्रक्सन प्रालिले निर्माणबापत अझै रु ८० लाख पाउन बाँकी रहेको जनाएको छ ।

निर्माणसम्पन्न भएपछि व्यास नगरपालिकालाई हस्तान्तरण नगर्दा सो केन्द्र प्रयोगविहीन बन्न पुगेको व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताउनुभयो । “सङ्घीय सरकारबाट सुरु गरेको योजना त्यही वर्ष सम्पन्न हुनुपर्नेमा अर्को वर्ष मात्रै सम्पन्न भयो, संविधान निर्माण भएपछि कसको जिम्मा रहने भन्ने अन्योलले अलपत्र बन्न पुगेको हो”, उहाँले भन्नुभयो । नगरप्रमुख न्यौपानेले बनेको संरचनालाई प्रयोगमा ल्याउन नगरपालिका गम्भीर रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button