तपाईँ सुन्दै हुनुहुन्छः

गुल्मीमा छल्दी–ठाढुंगा सडक निर्माणको काम कछुवाको गतिमा

गुल्मी । गुल्मीमा ठाढुंगा इस्मा जाने सडकको छल्दी–ठाढुंगा सडक निर्माणको काम कछुवा गतिमा हुँदै आएको छ ।

जिल्लाको इस्मा गाउँपालिकाको वडा नम्बर–२ छल्दी हुँदै वडा नम्बर–३ ठाढुंगा इस्मा जाने सडकको छल्दी–ठाढुंगा सडक निर्माणको काम कछुवा गतिमा हुँदै आएको हो । ग्रामीण क्षेत्रमा पुग्ने सहायक राजमार्गको रुपमा रहेको उक्त सडक भएर छल्दीबाट, गुरुवा, हस्तिचौर, मल्दी, उजुङ, ठाढुंगा, इस्मा अर्जै लगायतका विभिन्न ठाउँमा पुग्ने सडकसँग सडक जोडिएको छ ।

२ वर्षमा सक्नुपर्ने सडकको ३ वर्ष बित्नै लाग्दा भौतिक प्रगति ३० प्रतिशत मात्रै भएको छ । निर्माणाधीन छल्दी–गुरुवा ठाढुंगा हुँदै इस्मा सम्म पुग्ने सडकको ३ वर्षमा ३० प्रतिशत मात्रै काम भएको छ । 

सडकको माघ मसान्तसम्म ३० प्रतिशत भौतिक प्रगति र २८ दशमलव ९२ प्रतिशत वित्तीय प्रगति भएको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी इन्जिनियर दुर्गाप्रसाद गौतमले बताउनुभयो ।  ०७९ साल वैशाख २६ गते सम्झौता भएको सडकको ०८१ साल वैशाख २५ गते सम्पन्न गर्ने सम्झौता रहेको थियो ।

यो अवधिमा सडक निर्माण कार्यसम्पन्न नभएपछि पुनः म्याद थपेर २०८२ साल मङ्सिर १० गतेसम्म सम्पन्न गर्ने गरि म्याद थप भएको गौतमले बताए । अहिले यो सडकमा यहीँ गतिमा काम भइरहे म्याद थप मितिमा पनि काम सम्पन्न हुने देखिँदैन । 

सडक डिभिजन पाल्पा कार्यालय मार्फत काम भइरहेको छल्दी–ठाढुंगा सडकको ५.६ किलोमिटर सडक कालोपत्रे गर्ने गरी सम्झौता भएको थियो । सडकको हालसम्म केही भाग क्षेत्रमा स्तर उन्नतिको काम केही मात्रामा भएको सडक डिभिजन पाल्पाले जनाएको छ । 

सडकमा अघिल्लो वर्ष केही काम भएको थियो । यसवर्ष पनि काम भइरहेको छ । तर सोचे अनुसारको भौतिक प्रगति भएको देखिँदैन । रौताहा–श्रेष्ठ–ओमबुद्ध जेभी मार्फत काम भइरहेको सडकको स्तराेन्ती सहित कालोपत्रे गर्ने गरि काम भइरहेको छ । सडक निर्माणका लागि २४ करोड ७२ लाखको लागतमा निर्माण गर्ने गरि सम्झौता भएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

सडक निर्माणको लागि यस आर्थिक वर्षमा ३ करोड रकम मात्रै विनियोजन भएको छ । काम धेरै भएको खण्डमा सोही आधारमा रकम थप हुने सूचना अधिकारी इन्जिनियर दुर्गाप्रसाद गौतमले बताउनुभयो । 

अघिल्लो वर्ष काम गरेको भुक्तानी लिन समस्या भएकाले यसवर्ष पनि डराइ डराई निर्माण व्यवसायीले काम गर्दै आइरहेका छन् ।  छल्दी–ठाढुंगा हुँदै इस्मा पुग्ने सडक सांसद गोकर्ण बिष्टको गृह पालिकासम्म पुग्ने सडकको हो । 

२ लेनको चौडाई भएको सडक निर्माणका लागि सांसद बिष्टले ग्रामीण क्षेत्रकै उत्कृष्ट सडक बनाउने गरि बजेट विनियोजन गरेका थिए । तर सडक निर्माणको काम भने सुस्त गतिमा हुँदा त्यस क्षेत्रका नागरिकले सास्ती खेप्नुपर्ने अवस्था रहेको छ । सडक बिस्तारको क्रममा केही ठाउँमा जथाभाबी गर्दा घरहरू जोखिममा समेत परेका छन् । सडक बिस्तारको क्रममा केही ठाउँमा पानीका मुहानहरू समेत जोखिममा छन् ।  

वर्षातको समय पनि आउन थालेकाले सडक निर्माणको कामले गति नलिँदा त्यस सडक भएर चल्ने सवारी साधन तथा यात्रुले सास्ती खेप्नुपर्ने अवस्था रहेको छ । सडक फराकिलो बनाउने क्रममा पहिलेको भन्दा फरक डिजाइन गरेर बाटो खनेको विभिन्न ठाउँमा जोखिमता निम्त्याएको स्थानीय यमबहादुर थापाले गुनासो गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button