तपाईँ सुन्दै हुनुहुन्छः

२५ करोड अवैध रकम बरामद प्रकरण: प्रभावकारी छानविन गरी दोषीलाई कारबाही गर्न सांसदहरूको माग

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सासदहरुले काठमाडौँको टोखाबाट ट्रकमा राखिएको करिब २५ करोड बराबरको डलर र युरो जफत भएको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै घटनाको गम्भीरतापूर्वक छानविन र अनुसन्धान गर्न माग गर्नुभएको छ  ।   

सांसद माधव सापकोटा, रोषन कार्की र रामहरि खतिवडाले बैठकको आकस्मिक समयमा ट्रकबाट करिब २५ करोड बरावरको रकम बरामद भएको र यस्ता घटनामा ड्राइभर र भरिया मात्रै समातिने तर अनुसन्धान मुख्य दोषीसम्म नपुग्ने गरेको भन्दै अनुसन्धान प्रभावकारी बनाउन माग गर्नुभयो ।

सांसदहरु हेमराज राई र रामकुमार राईले खोटाङलगायत देशका विभिन्न भागमा आगलागी हुँदा धेरै जनधानको क्षति भइरहेको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै पीडितलाई राहत र उपचारको व्यवस्था गर्न माग गर्नुभयो । 

उहाँहरूले आगलागी नियन्त्रण र रोकथामका लागि समयमा नै व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण समेत गराउनुभयो ।

सांसद सुमना श्रेष्ठले सरकार शिक्षा क्षेत्रप्रति गम्भीर बन्न नसकेको भन्दै एसइई को परीक्षाको विषयमा मधेश प्रदेशले उठाएको गोला प्रथाबाट केन्द्राध्यक्ष राख्ने मागमा सरकारले सहयोग नगरेको आरोप लगाउनुभयो ।   

रामकृष्ण यादव र मुक्ता कुमारी यादवले धनुषा जिल्लाको सवैला नगरपालिका वडा नम्बर ९ मा चैत ४ गत चोकको नाम राख्ने विषयमा विवाद हुँदा उत्पन्न परिस्थितिबारे जानकारी गराउँदै प्रहरीको गोली लागि घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था गर्न माग गर्नुभयो ।

बैठकमा नेपाली कांग्रेसका मुख्य सचेतक श्याम घिमिरेले चैत ३ गते सभाको विशेष समयमा बोलेको कुरालाई लिएर आलोचना बढेपछि आज सदनबाटै माफी माग्नुभयो । 

सांसद घिमिरेले सदनमा बोलेको विषय आफ्नो व्यक्तिगत धारणा भएको भन्दै त्यसका पार्टीको र दलको आधिकारिक धारणा नभएको समेत स्पष्ट पार्नुभयो ।  उहाँले देशमा यौन व्यवसाय खुला गर्नुपर्ने तर्क गर्नुभएको थियो । 

बैठकमा सांसदहरुले सडक पूर्वाधार निर्माणमा ढिलाइ हुँदा देशका विभिन्न भागमा आम नागरिक समस्यामा परिरहेको, विकास निर्माणका कामहरू समयमा नै नहुने गरेको लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरुले एसइई को परीक्षालाई व्यवस्थित सुरक्षित बनाउदै सबै विद्यार्थीले सहजरुपमा परीक्षा दिन सक्ने वातावरण बनाउनु सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button