रुपन्देहीमा गत वर्षभन्दा तीन हजार दुई सय असी बढी विद्यार्थीले एसइईको परीक्षा दिँदै
रुपन्देही । चैत ७ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा एसइईमा गत वर्षभन्दा तीन हजार दुई सय ८० बढी विद्यार्थी सहभागी हुने भएका छन् । यो वर्ष रुपन्देहीबाट करिब २३ हजार विद्यार्थी सहभागी हुने भएका छन् ।
रुपन्देहीका १७६ सामुदायिक र १७० संस्थागत विद्यालय गरी कुल ३४६ विद्यालयबाट २२ हजार ९७५ विद्यार्थीले परीक्षाको तयारी गरेका छन् । गत वर्ष रुपन्देहीबाट १९ हजार ६९५ विद्यार्थी सहभागी भएकोमा यो वर्ष २२ हजार ९७५ ले परीक्षा दिन लागेका हुन् ।
शिक्षा विकास तथा समन्वय एकाइ रुपन्देहीका प्रमुख माधव बन्जाडेले अनुसार साधारणतर्फ २२ हजार ४५७ र प्राविधिकतर्फ ५१८ गरी २२ हजार ९७५ विद्यार्थीले एसइई दिन लागेको जनाउनुभएको छ । साधारणतर्फ नियमितमा १७ हजार ५१८ र ग्रेड वृद्धिका लागि ४ हजार ९३९ विद्यार्थीले परीक्षा दिन लागेको प्रमुख बन्जाडेले बताउनुभयो ।
यस्तै प्राविधिकतर्फ ४०३ जना नियमित विद्यार्थी हुन् भने बाँकी ११५ जनाले ग्रेडबृद्धिका लागि परीक्षा दिन लागेका हुन् । साधारणतर्फ ग्रेड वृद्धिका लागि २८४ जना विद्यार्थी २०८० साल भन्दा एसइई दिएका रहेको उहाँले बताउनुभयो ।
साधारणतर्फ ५८ र प्राविधिकतर्फ २ वटा केन्द्र निर्धारण गरिएको शिक्षा विकास तथा समन्वय एकाइ रुपन्देहीका प्रमुख बन्जाडेको भनाइ छ । यस्तै परीक्षा सम्पन्न गर्नका लागि २ हजार ९९५ जना जनशक्ति परिचालन गर्ने उहाँले बताउनुभयो । एसइई परीक्षामा सुरक्षाकर्मी र अनुगमनकर्ता आवश्यक सङ्ख्यामा परिचालन हुने बन्जाडेले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्