राष्ट्रियसभा बैठक : तिलगंगा नेत्र विश्वविद्यालय विधेयक सर्वसम्मतिले पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ लाई सर्वसम्मतिले पारित गरेको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराइले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रस्तुत गर्नुभएको तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सभाको सर्वसम्मतिले पारित गरेको हो ।
विधेयकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफमा मन्त्री भट्टराइले नेपालको दुर्गम स्थानमा बसोबास गर्नेहरुको दृष्टि सम्बन्धी समस्याको समाधानका लागि विधेयक थप उपलब्धिमूलक बन्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले नेपालमा आँखा उपचार अझै पनि सहज र सर्वसुलभ नभएको अवस्थामा त्यसलाई सहज बनाउन विधेयकले सघाउ पुग्ने बताउनुभयो ।
मन्त्री भट्टराइले नवीनतम् प्रविधिको विकास र विस्तारले रोजगारीका अवसर सिर्जना गर्न, नेपालका प्राविधिक जनशक्तिको ख्याति वृद्धि गर्न र विश्व स्तरको जनशक्ति उत्पादन गर्न विश्वविद्यालय सक्षम हुने बताउनुभयो ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराइले प्रस्तुत गर्नुभएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक २०८१ लाई सभाले दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।
विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक,२०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभामा पेस गर्नुभयो ।
राष्ट्रियसभाको अर्को बैठक चैत ६ गते बुधबार दिउँसो १ बजेर १५ मिनेटमा बस्नेछ ।
प्रतिक्रिया राख्नुहोस्