पीएम कप क्रिकेट : लुम्बिनी प्रदेशको चौथो जीत
दाङ । नेपाल टेलिकम प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामामा मधेश प्रदेशलाई ८३ रनले हराएसँगै लुम्बिनी प्रदेशले चौथो जीत हासिल गरेको छ । लुम्बिनीका स्पिनरले कसिलो बलिङ गरेपछि मधेश प्रदेशले मध्यम लक्ष्य पनि जित्न सकेन ।

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा १५९ रनको विजयी लक्ष्य पछ्याएको मधेश प्रदेशका कुनै पनि खेलाडीले अपेक्षित ब्याटिङ गर्न नसक्दा लुम्बिनीले ८३ रनको सानदार जीत निकाल्यो।
दाङमा पहिलो पटक आयोजना गरिएको पिएम पुरुष क्रिकेट प्रतियोगितामा अङ्क तालिकाको चौथो स्थानमा लुम्बिनी र पाँचौँ स्थानमा मधेश प्रदेश रहेका छन् ।
अहिलेसम्म ४ खेल खेलेको लुम्बिनीले ३ खेलमा जीत र १ मा हार व्यहोर्दै ८ अङ्कका साथ अङ्क तालिकाको चौथो स्थानमा रहँदा ४ खेल खेलेको मधेश प्रदेश १ खेलमा जीत र दुईमा हार व्यहोर्दै २ अङ्कका साथ अङ्क तालिकाको पाँचौँ स्थानमा यथावत् छ ।
लुम्बिनीले यसअघि कोशी प्रदेशलाई २६ रनले हराएको थियो । नेपाल पुलिस क्लबसँग ८७ रनले हारेको लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रन र वाग्मती प्रदेशलाई ४८ रनले हराएको छ ।
यसैगरी, मधेश प्रदेशले कोशी प्रदेशलाई १६५ रनले हराएको थियो । विभागीय टिम एपीएफ क्लबसँग २ विकेट र नेपाल पुलिस क्लबसँग १९३ रनले हारेको छ ।
नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट सङ्घको समन्वय तथा दाङ क्रिकेट सङ्घको व्यवस्थापनमा जारी प्रतियोगितामा ३ विभागीय टिम आर्मी क्लब एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टिमले फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा प्रतियोगिता खेलिरहेका छन् ।
तीन खेल मैदानमा भइरहेको प्रतियोगिता अन्तरगत रुपन्देहीको सिद्धार्थ रङ्गशालामा १७ वटा, एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा १५ वटा, दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा १४ वटा गरि ४६ वटा खेल भइरहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्