दुई महिने राउटे शिशुको मृत्यु
दैलेख । गएराति राउटे समुदायका दुई महिने शिशुको मृत्यु भएको छ । बलबहादुर शाहीका दुई महिनाका छोरा रानीघाट शाहीको मृत्यु भएको हो ।
आमाबाबुले मदिरा पिउने र बालकको राम्रोसँग स्याहार र हेरचाह नगरेका कारण शिशुको मृत्यु भएको सोसेक नेपालबाट सञ्चालित राउटे परियोजनाका स्वास्थ्यकर्मी विनोद विसीले जानकारी दिनुभयो ।
शिशुमा कुनै बिरामी नभएको, आमाबाबु मदिरा पिएर मस्त हुने, समयमा बच्चाले दूध नपाउँदा र हेरचाह नहुँदा मृत्यु भएको स्वास्थ्यकर्मी विसीले बताउनुभयो ।
१ सय ३७ जनाको सङ्ख्यामा रहेको यो समुदाय दुई महिने शिशुको मृत्यु भएसँगै १ सय ३६ मा झरेको छ । पछिल्लो समय राउटे समुदायमा दिन प्रतिदिन मदिराकै कारण मृत्युदर बढिरहेको र जन्मदर कम हुँदै गएको स्वास्थ्यकर्मी विसीले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्