पोखरा कप राष्ट्रिय पुरुष ह्यान्डबल प्रतियोगिता पोखरामा सुरु

पोखरा । गण्डकी प्रदेश प्रथम पोखरा कप राष्ट्रिय पुरुष ह्यान्डबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार देखि पोखरामा सुरु भएको उक्त प्रतियोगिता अन्तर्गत पहिलो दिनकै खेलमा गण्डकीले गण्डकीले सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलाई हराउँदै अन्तिम चारमा यात्रा तय गरेको हो ।
पहिलो खेलमा गण्डकीले सुदूरपश्चिमलाई ३५–१७ गोल अन्तरले पराजित गरेको हो । गण्डकीका लागि पवन छन्त्यालले सर्वाधिक ११ गोल गर्दा यस्तै सुदूरपश्चिमका लागि सरोजकुमार सिंहले ६ गोल अर्थात् डवल ह्याट्रिक पूरा गर्नु भएको हो । दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपिएफले लुम्बिनी प्रदेश माथि ३०–९ को फराकिलो गोल अन्तरले पराजित गर्यो । एपिएफका लागि नितेश धिमालले ५ गोल गर्दा लुम्बिनीका लागि मनोज थारुले ५ गोल गर्नु भएको थियो । तेस्रो खेलमा गण्डकीले कर्णालीलाई ४२–१६ को अन्तरले अन्तरले पाखा लगायो । गण्डकीका लागि प्रवेश गुरुङले १२ गोल गरे । यो जितसँगै गण्डकी एक खेल अघि नै सेमिफाइनलमा प्रवेश गरेको हो । यस्तै चौथो खेलमा कोशी प्रदेशले सुदूरपश्चिमलाई २२–१९ ले पराजित गरेको छ । गण्डकी प्रदेश ह्यान्डबल सङ्घको आयोजना तथा प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवद्र्धन तथा कास्की जिल्ला ह्यान्डबल सङ्घको प्राविधिक सहयोगमा उक्त प्रतियोगिता पोखरामा सञ्चालन भएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले देशलाई चिनाउने काम खेलाडीले गर्दै आइरहेको र गण्डकी प्रदेशमा खेलकुदमा विषयमा केही नवितम योजनाहरू अघि सारिएको बताउनु भयो । खेलाडी बिमा, खेलकुदमा पदक लगायत विषयमा कार्यविधि बनाइ खेलाडी तथा खेलकर्मीको सम्मान गर्ने उद्देश्यका साथ अघि बढेको उहाँले बताउनु भयो । राज्यले खेलकुदमा बजेट विनियोजन निकै न्युन गर्दा खेलाडीको विकास हुन नसकेको उहाँको भनाई थियो ।
दक्षिण एसियाली ह्यान्डबल संघका उपाध्यक्ष तेज गुरुङले अब बिस्तारै ह्यान्डबलका गतिविधिहरू अघि बढ्ने बताउँदै विविध कारणले अहिलेसम्म नेपालमा ह्यान्डबलको गतिविधि हुन नसकेपनि अब भने त्यसको अन्त्य हुने जनाउनु भयो । प्रतियोगितामा आयोजक गण्डकी सहित कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबको सहभागिता रहेको छ । लिग कम नकआउटका आधारमा प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगिताको उपाधि विजेता टिमले नगद रु १ लाख, उपविजेताले नगद ५० हजार र तेस्रो हुने टिमले नगद रु ३० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई नगद ५–५ हजारका साथमा ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने ह्यान्डबल संघ गण्डकीका उपाध्यक्ष गिरमान गुरुङले जानकारी दिनुभयो । प्रतियोगिता सम्पन्न गर्न करिब १४ लाख खर्च हुने गण्डकी प्रदेश ह्यान्डबल संघका अध्यक्ष केशव पाठकले बताउनु भयो ।
प्रतिक्रिया राख्नुहोस्