प्रतिनिधिसभामा हावाहुरीको क्षति, बालसुधारगृह झडप बारे सरकारको ध्यानाकर्षण

काठमाडौँ I प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले हावाहुरीका कारण विभिन्न जिल्लामा घरहरूका साथै बालीनाली नष्ट भएको, बालसुधारगृहमा भएको झडप, पूर्वविशिष्ट व्यक्तिहरूलाई आजीवन सुविधा दिने निर्णयलगायत मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बैठकमा सांसदहरुले आर्थिक दृष्टिकोणबाट मुलुक कमजोर अवस्थामा गुज्रिरहेको र विकास निर्माणका कामहरू प्रभावकारी रुपमा अगाडी बढ्न नसकिरहेको अवस्थामा सरकारले पूर्वविशिष्ट व्यक्तिहरूका लागि आजीवन सुविधा दिने कानुन बनाउने भन्ने कुरा बाहिर आएको विषयमा स्पष्ट पार्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सासंदहरुले दैनिक रुपमा सयौँ युवाहरू बिदेसिन बाध्य भइरहेको र राज्यप्रति नागरिकहरू उदासिन भइरहेको अवस्थामा यस्तो सुविधा दिनु कति उपयुक्त हो यसमा स्पष्ट पार्न पनि माग गर्नुभयो ।
सांसदहरुले फागुन २८ र २९ गते गण्डकी र बागमती प्रदेशका विभिन्न जिल्लाहरूमा हुरी, बतास र असिनाबाट घर र किसानहरुले लगाएको खेती नष्ट भएको जानकारी गराउँदै ती स्थानमा कति घरहरू नोक्सान भए तीनको तथ्याङ्क सङ्कलन गरी सदनमा जानकारी गराउन माग गर्नुभयो ।
पीडित किसानहरूलाई राहतको व्यवस्था र बिमालाई थप व्यवस्थित गर्न पनि सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले बाँके जिल्लाको एक बालसुधार गृहमा भएको झडपमा परी ४९ जना घाइते हुनुका साथै सुधार गृहमा आगलागी समेत भएको जानकारी गराउँदै बाल सुधार गृहमा फरक उमेर समूहलाई एकै ठाउँमा राख्दा बारम्बार यस्ता प्रकारका घटना घटिरहेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले विभिन्न कारणले जेलभित्र रहेका नागरिकलाई राज्यले सुरक्षा गर्ने र व्यवस्थित गर्ने जिम्मेवारी लिनुपर्ने र सहकारी ठगी तथा हत्याराबाहेक अन्य कैदीलाई श्रमसँग जोड्न आवश्यक रहेको पनि सांसदहरुले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्