यातायात क्षेत्रको सुधारका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री सिंह

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेश सरकारले यातायात क्षेत्रमा जनताको गुनासोको सम्बोधन गर्नका लागि सेवालाई पूर्ण रुपमा डिजिटल बनाउन लागेको बताउनुभएको छ ।
यातायात व्यवस्था कार्यालय धनुषाको आज भवन शिलान्यास गर्नुहुँदै मुख्यमन्त्री सिंहले मधेश प्रदेशको प्रमुख राजश्वको श्रोतको रुपमा यातायात क्षेत्र भएकाले यसको विकासका लागि प्रदेश सरकार तयार रहेको बताउनुभयो ।

उहाँले मधेश प्रदेश सरकारको एकल अधिकारमा रहेको गुठी सम्बन्धि ऐन प्रदेश सरकारले चाँडै ल्याउन लागेका उल्लेख गर्नुहुँदै जनकपुरधामको ऐतिहासिक तथा धार्मिक गरिमा जोगाउनका लागि सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो ।
मुख्यमन्त्री सिंहले मधेश प्रदेशमा एसइई परीक्षालाई मर्यादित बनाउन केन्द्राध्यक्षको छनौट गोला प्रथाद्वारा गराइने भन्नुहुँदै मधेश प्रदेश सरकारले परीक्षाको अनुगमनका लागि प्रत्येक जिल्लामा १० वटा आफ्नो अनुगमन टोली परिचालन गर्न लागेको बताउनुभयो ।

मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री कौशल किशोर रायले जनकपुरधाममा बन्ने ट्रायल सेन्टर मुलुककै लागि नमूना हुने उल्लेख गर्नुहुँदै यसको निर्माणपछि चालक अनुमति पत्रमा हुने गरेको सबै गुनासोहरूको सम्बोधन हुने बताउनुभयो ।
गुठी संस्थानबाट यातायात व्यवस्था कार्यालय धनुषाका लागि प्रदेश सरकारले १ विगाह जग्गा लिजमा लिई कार्यालय तथा ट्रायल सेन्टरको निर्माण गर्न लागेको हो ।
प्रतिक्रिया राख्नुहोस्