तपाईँ सुन्दै हुनुहुन्छः

सैनामैना गोल्डकपको उपाधि कपिलवस्तु ११ लाई

रुपन्देही । रुपन्देहीको सैनामैनास्थित मुर्गियामा भइरहेको प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटबलको उपाधि कपिलवस्तु ११ ले चुमेको छ ।

मुर्गिया फुटबल क्लबको आयोजनामा बुधबार सैनामैनाको मुर्गियास्थित रङ्गशालामा भएको फाइनल खेलमा अभिषेक चर्च रजहर नवलपुरलाई १–० गोल अन्तरले पराजित गर्दै कपिलवस्तु ११ प्रतियोगिताको उपाधि विजेता बनेको हो ।

पहिलो हाफ बराबरी खेलेका दुवै टिम खेलको दोस्रो हाफको १० मिनेटमै कपिलवस्तु ११ का जर्सी नम्बर १० का खेलाडी मोहम्मदले डी बक्समा पाएको उत्कृष्ट अवसरलाई गोलमा परिणत गरेसँगै कपिलवस्तु ११ उपाधि विजेता बन्न सफल भएको हो ।

आजको खेलमा दुवै टोलीले विदेशी खेलाडी मैदानमा उतारेका थिए । दुवै टिमले गोलका थुप्रै अवसर पाएपनि अन्ततः कपिलवस्तु ११ का खेलाडी मोहम्मदले गोलको अवसरलाई सदुपयोग गर्दै आफ्नो टिमलाई उपाधि विजेता बनाउन सफल भएका हुन् ।

१० दिनसम्म चलेको उक्त खेल प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा उपाधि विजेता कपिलवस्तु ११ ले नगद ७ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र र दोस्रो स्थान हासिल गर्ने अभिषेक चर्च रजहर नवलपुरले नगद ४ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् ।

प्रतियोगिता समापनमा नेकपा माओवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेल प्रतियोगिता आयोजना गरेर खेल क्षेत्रको विकासमा ठूलो योगदान गरेको बताउनुभयो । उहाँले सैनामैना ७ मा बन्दै गरेको गौतमबुद्ध स्टेडियम निर्माण गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button