तपाईँ सुन्दै हुनुहुन्छः

युक्रेन वार्ताअघि अमेरिकाको भनाइ : युद्ध अन्त्यका लागि केही भूभाग त्याग्नुपर्छ

काठमाडौं । अमेरिकाले युक्रेनमा शान्ति सम्झौताका लागि केही भूभाग त्याग्नुपर्ने हुन सक्ने बताएको छ।

मंगलबार साउदी अरबको जेद्दामा अमेरिकी र युक्रेनी अधिकारीबीच युद्ध अन्त्यबारे वार्ता हुँदैछ। वार्ताअघि अमेरिकी विदेशमन्त्री मार्को रूबिओले युक्रेनले २०१४ यता रूसले कब्जा गरेका भूभाग छाड्नुपर्ने बताएका छन्। उनले रूसले पनि केही त्याग गर्नुपर्ने बताए।

ुयुद्ध अन्त्यका लागि दुवै पक्ष कठिन निर्णयका लागि तयार हुनुपर्छ,ु उनको भनाइ उद्धृत गर्दै द न्यूयोर्क टाइम्स ले उल्लेख गरेको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका कर्मचारी प्रमुख, विदेश तथा रक्षामन्त्रीसहितका अधिकारी वार्तामा सहभागी हुनेछन्। अमेरिकाबाट विदेशमन्त्रीसहित ट्रम्पका विशेष दूत रहनेछन्।

आजको वार्ताले शान्ति सम्झौता र प्रारम्भिक युद्धविरामको खाका तयार गर्ने अपेक्षा गरिएको छ। जेलेन्स्की वार्तामा भने सहभागी हुने छैनन्।

यसअघि ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग जेलेन्स्कीबीच चर्काचर्की परेको थियो। त्यसयता दुई देशबीच पहिलो औपचारिक संवाद हुन लागेको हो।

साउदी वार्तामा खनिज सम्झौताबारे छलफल नहुने न्यूयोर्क टाइम्स ले जनाएको छ। तर, जेलेन्स्की खनिज सम्झौता गर्न तयार रहेको बताइएको छ।

उनले शान्ति सम्झौताको प्रारम्भिक रूपरेखामा रूसले समुद्र र आकाशबाटको आक्रमण रोक्नुपर्ने र कैदी आदानप्रदान हुनुपर्ने बताएका छन्।

यसअघि बेलायत र फ्रान्सले अस्थायी युद्धविरामको प्रस्ताव राखेका थिए, जसलाई रूसले अस्वीकार गरेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button