प्रधानमन्त्री कप क्रिकेटमा आर्मी फराकिलो रन अन्तरले विजयी

भैरहवा (रुपन्देही) । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल आर्मी क्लबले बागमती प्रदेशलाई फराकिलो रन अन्तरले विजयी भएको छ । आर्मीले बागमतीलाई १३४ रनले पराजित गरेको हो ।
रुपन्देहीको सिद्धार्थ क्रिकेट रङ्गशालामा टस जितेर पहिला ब्याटिङ गरेको आर्मी क्लबले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २६२ रन बनायो । २६३ रनको लक्ष्य पछ्याएको बागमती प्रदेश २७ ओभरमा १२८ रनमा समेटियो । आर्मीका लागि सन्तोष कार्कीले अद्र्धशतकीय पारी खेले । उनले ९८ बलको सामना गर्दै १० चौका र एक छक्का हान्दै ७६ रन बनाए ।
यस्तै, विनोद भण्डारीले ५० बल खेल्ने क्रममा ५ चौका प्रहार गरी अविजित ४७ रन बनाए । तिर्तराज दासले ३६, विवेक यादवले ३० र कुशल मल्लले २६ रन बनाए । बलिङतर्फ बागमती प्रदेशका लागि प्रतिश जिसी, राजन ढकाल र ईशान पाण्डेले दुई दुई तथा सोनु देवकोटाले एक विकेट लिए ।
बागमती प्रदेशका लागि ब्याटिङ गर्ने क्रममा विवेक मगरले अद्र्धशतकीय पारी खेले । उनले ५० बलको सामना गर्दै ५ चौका र ३ छक्काको सहयोगमा ५१ रन बनाए ।
यस्तै इशान पाण्डेले १९ र आषुतोष घिरैयाले १० रन बनाए । बलिङतर्फ आर्मीका लागि साहव आलमले चार तथा आकाश चन्दले तीन विकेट लिए । बागमतीले लगातार दोस्रो खेलमा हार बेहोरेको हो ।
प्रतिक्रिया राख्नुहोस्