प्रधानमन्त्री कप क्रिकेट: गण्डकीद्वारा सुदूरपश्चिमलाई २२१ रनको लक्ष्य
घोराही (दाङ) । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २२१ रनको लक्ष्य दिएको छ ।
दाङको लमही क्रिकेट रङ्गशालामा टस जितेर पहिला ब्याटिङ गरेको गण्डकी प्रदेशले निर्धारित ५० ओभरको खेलमा ८ विकेटको क्षतिमा २२० रन बनायो । गण्डकीका लागि अर्जुन कुमाल र दिपक डुम्रेले अर्धशतकीय पारी खेले । दिपकले ७४ बल खेल्ने क्रममा तीन चौका र एक छक्का हान्दै ६० रन बनाए । यस्तै अर्जुनले ९५ बलमा ५७ रनको योगदान दिए । उनले यस क्रममा चार चौका र एक छक्का प्रहार गरे ।
यसैगरी सुदिप अर्यालले अविजित २३, दिनेश बुढामगरले १५ तथा अमृत गुरुङ र विपिन खत्रीले दश दश रनको योगदान दिए ।
बलिङतर्फ सुदूरपश्चिमका लागि शेर मल्लले तीन, नारायण जोशीले दुई तथा हेमन्त धामी, मिलन बोहरा र अर्जुन विकले एक एक विकेट लिए । सुदूरपश्चिमले अहिले गण्डकीविरुद्ध जवाफी ब्याटिङ गरिरहेको छ । सोमबारदेखि सुरु भएको प्रधानमन्त्री कप क्रिकेट सात पदेश र तीन विभागीय टोली सहभागी छन् । राउण्ड रोबिनका आधारमा खेलाइने प्रतियोगितामा अङ्कका आधारमा शीर्ष चार टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।
–––
प्रतिक्रिया राख्नुहोस्