बिमा रकम दाबी गर्न आफ्नै पसलमा आगो लगाउने पक्राउ
कास्की। कास्की प्रहरीले बिमा रकम दाबी गर्ने मनसायका साथ आफ्नै पसलमा आगो लगाएको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–३ स्थायी घर भई हाल पोखरा–२७ तालचोक बस्ने बस्ने २८ वर्षीय रमेश शर्मा लोहार रहेका छन् ।

कास्की प्रहरीका सूचना अधिकारी एवं डिएसपी बसन्तकुमार शर्माका अनुसार लोहारको पोखरा–८ न्यूरोडस्थित शर्मा आइटी हवमा यही फागुन १६ गते साँझ सात बजेतिर आगो लागेको थियो । आगलागीबाट ९४ लाख रुपैयाँ बराबरको क्षति भएको भन्दै लोहारले वडा प्रहरी कार्यालय बैदाममा त्यसको भोलिपल्टै निवेदन दिएका थिए । उनले आफ्नो पसलको एक करोड बराबरको बिमा पनि गरेका थिए । घटनाको ३ दिनपछि लोहारले शिखर इन्स्योरेन्स कम्पनीमा मोबाइल चार्जमा राखेर वास रुम गई फर्किँदा केही पड्किएको आवाज आई हेर्दा आगलागी भएको भन्ने ब्यहोरासहित बिमा रकम दाबिका लागि निवेदन पनि दिएका थिए ।
आगलागी पछि अनुसन्धान गर्दा प्रहरीले पसलमा २ जना कामदार रहेकोमा दुवैजना घटनाको दिन बिदामा रहेको, पसल घटनाको २ दिन अघिदेखि बन्द रहेको पत्ता लगायो । साथै घटनास्थलको प्रकृतिको अध्ययन, घटनास्थलबाट म्यानुअल्ली र डिजीटल्ली दुवै प्रकारबाट आगलागी भएको घटनाको बारेमा विभिन्न सबुद प्रमाण सङ्कलन गरेको, लोहारको तालचोकस्थित पसलको पनि अनुसन्धान पछि प्रहरीले बिमा रकमकै लोभमा लोहार आफैले पसलमा आगो लगाएको निष्कर्षमा पुगेर पक्राउ गरेको हो । लोहारलाई आपराधिक प्रवेश तथा आपराधिक उपद्रो सम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडी बढाइएको डिएसपी शर्माले बताउनु भयो ।
प्रतिक्रिया राख्नुहोस्