बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैरसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैरसरकारी संस्थाहरूलाई आग्रह गर्नुभएको छ ।
गैरसरकारी संस्था महासङ्घको ११ औँ महाधिवेशन तथा नागरिक सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विश्वव्यापीकरणको अवस्थामा सबै काम एक्लै गर्न नसकिने स्थिति भए पनि उर्वर नेपाली भूमिलाई प्रयोग गरेर उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री ओलीले सामाजिक संस्थाले असफलताको मात्र नभइ सफलता,आशा र उपलब्धिको चर्चा गर्न सुझाव दिँदै विकासको प्रयासमा कुनै प्रकारको अवरोध सृजना हुन नदिने स्पष्ट गर्नुभयो ।
राजतन्त्र पक्षधरको आइतबारको कार्यक्रमलाई लक्ष्य गर्दै उहाँले भन्नुभयो एउटा जुलुस निकाल्नुपर्यो भने विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा हामी छैनौँ । अलोकतान्त्रिक, प्रणाली विरोधी र असंवैधानिक कुराहरूमा लाग्ने हामीलाई फुर्सद छैन । हामी हरेक दिन एक कदम अगाडि भन्ने सोचका साथ समृद्ध नेपालको यात्रामा छौँ ।
प्रतिक्रिया राख्नुहोस्