तपाईँ सुन्दै हुनुहुन्छः

राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार बनेको हो : उपप्रधानमन्त्री सिंह

भोजपुर । उपप्रधानमन्त्री प्रकाशमान सिंहले मुलुकमा राजनीतिक स्थायित्वका लागि अहिलेको कांग्रेस–एमाले गठबन्धनको सरकार बनेको बताउनुभयो । 

भोजपुर नगरपालिका वडा नम्बर चार दाँवामा रहेको सिद्धेश्वर माध्यमिक विद्यालयको ७७ औँ वार्षिकोत्सव कार्यक्रमको उद्घाटनसँगै आफ्नो धारणा राख्नु हुँदै उहाँले सो कुरा बताउनु भएको हो । शहरी बिकास मन्त्री समेत रहनु भएका सिंहले मुलुकको बिकास निर्माण र स्थायित्वका लागि पनि अहिलेको सरकार आवश्यक रहेको बताउनुभयो । 

बिकास निर्माणका कार्यलाई अगाडि बढाउन गठबन्धन दलको वर्तमान सरकार क्रियाशील रहेको बताउँदै उपप्रधानमन्त्री सिंहले आगामी बजेटमा सबै वर्ग र क्षेत्रको अपनत्व हुने गरी अगाडी बढ्ने पनि बताउनुभयो । सिंहले भन्नुभयो, ‘आउने बजेटमा भएको स्रोत साधन परिणाममुखी हुने गरी, नागरिकले महसुस गर्ने गरी विकास निर्माणको काम गर्ने गरी सरकार अघि बढिरहेको छ । अधिकार प्राप्त भएको छ । अधिकारसँगै हाम्रो जिम्मेवारी के हो भन्ने कुरामा विशेष ध्यान दिँदा समाजमा परिवर्तन ल्याउन सकिन्छ ।’ सफलता प्राप्त गर्नका लागि मेहनत र लगनशीलता अपरिहार्य छ । 

एक सय सात वर्षको जहानियाँ राणा शासन भन्दा अगाडी नै स्थापना भएको विद्यालयले शैक्षिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै सिंहले आफूसँग भएका श्रोत साधनको उचित प्रयोग गर्दे शैक्षिक सुधारमा लाग्न शिक्षक कर्मचारीलाई आग्रह समेत गर्नुभयो । सोक्रममा उपप्रधानमन्त्री सिंहलाई विद्यालयको तर्फबाट सम्मान पत्र र दोसल्ला सहित सम्मान समेत गरिएको थियो । 

कार्यक्रममा बोल्नु हुँदै पूर्वराज्यमन्त्री तथा नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले विद्यालयमा अध्ययनरत एक छात्र र एक छात्रालाई आफ्नो विद्यालयमा वार्षिकरुपमा छात्रवृत्तिको व्यवस्था गरि दिने प्रतिबद्धता समेत जनाउनुभयो । कार्यक्रममा कोशी प्रदेश सभा सांसद बिनोद बान्तवा, पूर्वअर्थमन्त्री शङ्कर प्रसाद कोइराला, जनप्रतिनिधि लगायतको पनि सहभागिता रहेको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button