लगानीमैत्री वातावरण बनाई दिन कर्णालीका उद्योगी तथा व्यवसायीको माग

सुर्खेत । कर्णालीका उद्योगी, व्यवसायीले लगानीमैत्री वातावरण बनाई दिन सरकारसँग माग गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घ, कर्णाली प्रदेशको आज सुर्खेतको वीरेन्द्रनगरमा शुरु भएको आठौँ प्रदेशसभाका सहभागी उद्योगी व्यवसायीले लगानीको वातावरण बनाउन निर्यातजन्य र उत्पादनमुखी उद्योगमा जोड दिन आग्रह गरेका हुन ।
महासङ्घको आठौँ प्रदेशसभालाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय कोषाध्यक्ष निरक केसीले बैङ्कको अस्वाभाविक ब्याजदरमा पछिल्लो समय सुधार आए पनि उद्योगी व्यवसायीले लगानीको जोखिम लिन नसकेको बताउनुभयो ।
उहाँले निजी क्षेत्र ‘कम्फटेवल’ नहुँदासम्म लगानीको वातावरण बन्न नसकिरहेको तर्फ तत्काल सरकारको ध्यान पुग्न आवश्यक रहेको औँल्याउनुभयो । उहाँका अनुसार देशभर रहेका उद्यम तथा उद्योगहरू अहिले ३० देखि ४० प्रतिशत क्षमताले मात्र सञ्चालन भइरहेका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाहीले कर्णालीमा पर्यटन, जडीबुटी, जलविद्युत र खनिजमा सम्भावना रहेपनि सरकारी नीति स्पष्ट नहुँदा नीजि क्षेत्रको लगानी भित्रिन नसकेको बताउनुभयो । उहाँले कर्णाली प्रदेशमा सम्भावना मात्र देखाउने नीतिभन्दा पनि उद्योगधन्दाका लागि चाहिने आवश्यक पूर्वाधार निर्माणतर्फ सरकारको ध्यान पुग्न आवश्यक रहेको जनाउनुभयो ।
सुर्खेत उद्योग वाणिज्य महासङ्घका अध्यक्ष लक्ष्मण कँडेलले आफ्नै श्रम तथा स्थानीय उत्पादनमा आधारित उद्योगलाई सरकारले विशेष प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले बैङ्क तथा वित्तीय संस्थाको कर्जालाई उत्पादनमूलक क्षेत्रमा प्रवाह गरेर स्वदेशी उद्योगहरूको प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो ।

कार्यक्रममा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले सरकार उद्योगी तथा व्यापारीको पक्षमा रहेको उल्लेख गर्दै आउँदो आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रममार्फत धेरै समस्याहरूको समाधान हुने विश्वास गर्नुभयो । उहाँले प्रदेश सरकारले व्यावसायिक वातावरण सृजना गरी राजश्व बुद्धिसँगै उद्योगी व्यवसायीका समस्यालाई प्राथमिकता राख्ने बताउनुभयो ।









प्रतिक्रिया राख्नुहोस्