‘स्वच्छ पानी, स्वस्थ जीवन’ भन्ने मुल मन्त्रलाई साकार पार्ने गरी काम गरौँ: मन्त्री यादव
मोरङ (पथरी) । खानेपानी मन्त्री प्रदीप यादवले ‘स्वच्छ पानी, स्वस्थ जीवन’ भन्ने मुल मन्त्रलाई साकार पार्ने गरी काम गर्नु पर्ने बताउनु भएको छ ।
आज मोरङको पथरीशनिश्वरे नगरपालिका स्थित पथरी खानेपानी आयोजनाको शिलान्यास समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले नेपाल सरकार खानेपानी मन्त्रालयले सुरक्षित, गुणस्तरीय र दिगो खानेपानी सेवा प्रत्येक नागरिकको मौलिक हकका रूपमा सुनिश्चित गर्ने लक्ष्य लिएको बताउनु हुँदै ‘स्वच्छ पानी, स्वस्थ जीवन’ भन्ने मुल मन्त्रलाई साकार पार्न सबै जुट्नु पर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “पथरीशनिश्वरे खानेपानी आयोजनाको शिलान्यास समारोह केवल एउटा पूर्वाधार निर्माणको घोषणा मात्र होइन, यो सरकारको प्रतिबद्धताको प्रतीक हो । ‘स्वच्छ पानी, स्वस्थ जीवन’ भन्ने मुल मन्त्रलाई साकार पार्ने दिशामा हामी सबै अघि बढौँ ।”
यसैगरी मन्त्री यादवले ‘एक घर, एक धारा’ अभियानमार्फत सरकारले मुलुकभरिका नागरिकसम्म स्वच्छ पानी पुर्याउने कार्यलाई तीव्र रूपमा अघि बढाइरहेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “आज यहाँ शिलान्यास भएको आयोजना एउटा महत्वपूर्ण कडी हो । सरकारको ‘एक घर, एक धारा’ अभियानले मुलुकभरिका नागरिकलाई प्रत्यक्ष रूपमा सुरक्षित पानी आपूर्ति गर्नेछ ।”

नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक नीति निर्माण, स्रोत परिचालन, तथा पूर्वाधार विस्तारमा निरन्तर अग्रसर रहेको मन्त्री यादवले बताउनुभयो ।
‘स्वच्छ पानी, स्वस्थ जीवन’ नारालाई कार्यान्वयन गर्दै प्रत्येक नागरिकका लागि गुणस्तरीय खानेपानी सेवा सुनिश्चित गर्ने, ‘एक घर, एक धारा’ अभियानलाई तीव्रता दिँदै देशभर खानेपानीको सहज पहुँच विस्तार गर्ने, संघीय, प्रदेश र स्थानीय सरकारको समन्वयमा खानेपानी तथा ढल व्यवस्थापनलाई थप प्रभावकारी बनाउने, जलस्रोत संरक्षण तथा प्रविधियुक्त व्यवस्थापन गर्दै दिगो खानेपानी सेवा प्रवाह गर्ने नेपाल सरकारको दृढ प्रतिबद्धता रहेको समेत मन्त्री यादवको भनाई छ ।
नेपाल सरकारले खानेपानी सेवालाई अझ प्रभावकारी, दिगो, र सर्वसुलभ बनाउने प्रतिबद्धता लिएको समेत मन्त्री यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी सबैको सहकार्य, समर्पण, र दृढ इच्छाशक्तिका माध्यमबाट नेपाललाई स्वच्छ, सुरक्षित र समृद्ध राष्ट्र बनाउने हाम्रो साझा लक्ष्यलाई हामी अवश्य प्राप्त गर्नेछौँ ।”
आयोजना शिलान्यास गर्ने कार्यमा सहयोग गर्ने तथा आजको कार्यक्रममा सहभागी जनप्रतिनिधिहरू, स्थानीय समुदाय, प्राविधिक विज्ञ, तथा खानेपानी क्षेत्रमा समर्पित सबैलाई मन्त्री यादवले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
सोही कार्यक्रममा बोल्नु हुँदै खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठले पथरी शनिश्चरे खानेपानी योजनाको लागि यस वर्ष रु ३५ करोड बराबरको स्रोत सहमति प्राप्त भई निर्माण कार्य शुरु हुने भएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “यस वर्ष रु ३५ करोड बराबरको स्रोत सहमति प्राप्त भएको छ । खानेपानीको दिगो समाधान हुने गरी संरचना निर्माण गर्न योजना निर्माणको क्रममा संघीय खानेपानी कार्यालयबाट अनुगमन निरीक्षण बढाउनुहोला । स्रोत सहमति, रकमान्तर लगायतका विषयमा सहयोग गर्नु भएकोमा अर्थ मन्त्रालयलाई हार्दिक धन्यवाद ।”
हजारौँ स्थानीय नागरिकलाई स्वच्छ, सुरक्षित, तथा भरपर्दो खानेपानी आपूर्ति गर्ने, स्थानीय रोजगारी सिर्जना गर्दै आर्थिक तथा सामाजिक उत्थानमा योगदान पुर्याउने, तथा गुणस्तरीय पूर्वाधार निर्माण गर्दै खानेपानी वितरण प्रणालीलाई सुदृढ बनाउने शनिश्वरे खानेपानी आयोजनाको विशेषता र महत्व रहेको बताइएको छ । यसैगरी उक्त आयोजनामा भविष्यका योजना र सरकारका प्राथमिकताहरूमा नवीनतम प्रविधिको प्रयोग गरी खानेपानी व्यवस्थापनलाई अझ व्यवस्थित बनाउने, ग्रामीण तथा दुर्गम क्षेत्रहरूमा खानेपानी सेवा विस्तार गर्दै समावेशी विकासको सुनिश्चितता गर्ने, स्थानीय सरकारहरूसँगको सहकार्य मार्फत दिगो खानेपानी स्रोत संरक्षण र व्यवस्थापन गर्ने तथा वित्तीय स्रोत परिचालन गर्दै स्वच्छ पानीको प्रभावकारी वितरण प्रणालीको स्थापना गर्ने रहेका संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरका कार्यालय प्रमुख सुरतलाल चौधरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्थानीय समुदायको सक्रिय सहभागिता मार्फत खानेपानी सेवा थप प्रभावकारी बनाउने, खानेपानी तथा सरसफाइ क्षेत्रमा निजी क्षेत्र र विकास साझेदारहरूको लगानी प्रवद्र्धन गर्ने, खानेपानी उपयोग सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरी प्रभावकारी उपभोग सुनिश्चित गर्ने स्थानीय तहहरूसँग सहकार्यको आवश्यकता राखिएको छ ।
आजको उक्त कार्यक्रममा स्थानीयवासी, जनप्रतिनिधि, आयोजनाका प्राविधिक, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्