२ महिना देखि ठोरी नाका बन्द हुँदा भारतीय पर्यटक प्रभावित
वीरगंज । पर्साको ठोरीमा रहेको छोटी भन्सार नाका २ महिना देखि बन्द हुँदा ठोरी र चितवनको माडी घुम्न आउने भारतीय पर्यटकहरू प्रभावित भएका छन् ।

गत पुस १७ गते देखि ठोरी नाका बन्द हुँदा निकुञ्ज र जङ्गल सफारी गर्न आउने भारतीय पर्यटकहरू प्रभावित भएका हुन् ।
भारतको बेतिया, नरकटियागन्ज , लगायतका क्षेत्रबाट नेपाल घुम्न आउने पर्यटकहरूको लागि ठोरीको छोटी भन्सार सहज मार्ग थियो तर गत पुस १७ गतेदेखि भन्सारको सेवा बन्द भएपछि अहिले यो बाटो भएर नेपाल भित्रिने भारतीय पर्यटक उतै रोकिन बाध्य भएको ठोरी गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

भन्सार सेवा बन्द भएपछि भारतीय पर्यटक आउनै छाडेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । “छोटी भन्सार भए पनि त्यतैबाट सवारीसाधनको अनुमति लिन पाइन्थ्यो । ती पर्यटक ठोरी हुँदै माडीसम्म पुगेर तीन÷चार दिनसम्म बस्थे,” उहाँले भन्नुभयो, “भन्सारको सेवा बन्द भएसँगै भारतीय गाडी आउन नपाउँदा यहाँका व्यवसायीमा प्रत्यक्ष असर परेको छ ।”
सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष मनाउन भारतीय पर्यटक भित्र्याउन यो भन्सार खोलिएको थियो । एक वर्षअघि कार्यालय स्थापना गरेर खोलिएको भन्सार एकाएक बन्द भएपछि यसको प्रत्यक्ष असर पर्यटन व्यवसायमा परेको हो । भन्सार खुलेकै कारण ठोरी र माडीमा करोडौँ लगानी गरेर खोलिएका तीन वटा ठुला होटेल पनि अहिले समस्यामा छन् ।
ठोरी भन्सार बन्द भएपछि यहाँ आउने पर्यटक वीरगन्जबाट वा सुनौलीबाट नेपाल भित्रिन बाध्य भएका छन् ।
चितवनबाट सबैभन्दा नजिकको नाका ठोरी हो । ठोरीमा अझै चितवन आसपास र गण्डकी प्रदेशका पहाडी भूभागका बासिन्दाहरू दैनिक उपभोग्य सामान लिन जाने गर्दछन् । ठोरीमा विसं २०२५ साल अघिसम्म भन्सार कार्यालय सञ्चालनमा थियो तर पछिल्ला वर्षमा यो क्रम टुटेको थियो । अहिले त्यो पुनः टुटेकोमा स्थानीय चिन्तित छन् ।
वीरगन्ज भन्सार कार्यालय वीरगन्जका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले छोटी भन्सारमा निकै कम मात्रै सवारीसाधनले अनुमति लिने हुँदा हटाएको बताउनुभयो । दिनमा तीन÷चार वटा गाडीलाई मात्रै पास दिएर कर्मचारीलाई काम दिन सकिने अवस्था एकातिर थिएन भने अर्कातर्फ भन्सार विभागले एक वर्षलाई मात्रै सो सेवाको अनुमति दिएको थियो । त्यो सन् २०२४ डिसेम्बरमै सकिएकाले अङ्ग्रेजी क्यालेन्डरको नयाँ वर्ष लागेसँगै कार्यालय बन्द भएको लामिछानेले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्