तपाईँ सुन्दै हुनुहुन्छः

जनतालाई राहतको अनुभूति हुने गरी काम गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले प्रस्तुत गर्नुभएको नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफल पछि बैठकले प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको हो ।

बैठकमा छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै ऊर्जा मन्त्री खड्काले विधेयकले नवीकरणीय ऊर्जाको विकासमा मद्दत पुग्ने, वातावरणीय सन्तुलनमा प्रभावकारी हुने र सबैको आवश्यक धारणालाई सम्बोधन गदै विधेयकलाई समृद्ध बनाइने बताउनुभयो ।

यसअघि प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री के पी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बी सुब्बा गुरुङले राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०८०।८१ को २४औँ वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।

यस्तै प्रतिनिधि सभाको बैठकमा सांसदहरुले देशको विभिन्न समसामयिक अवस्थाबारे जानकारी गराउँदै जनतालाई राहतको अनुभूति हुने गरी काम गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभा बैठकको शुन्य, आकस्मिक र विशेष समयमा बोल्दै सांसदहरुले आफ्नो क्षेत्रका सडक, यातायात, सार्वजनिक सेवा प्रवाह, महिलाको सबै ठाउँमा ५० प्रतिशत सहभागिता हुनैपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरुले अन्तर्राष्ट्रिय महिला दिवसको पूर्व सन्ध्यामा सबैमा शुभकामना व्यक्त गर्दै महिलामाथि अझै पनि विभेद हुने गरेकाले त्यसको अन्त्यका लागि यो–त्यो नभनी मिलेर लाग्नुपर्ने धारणा राख्नुभयो । 

बैठकमा शुन्य, आकस्मिक र विशेष समयमा सांसदहरुले उठाउनुभएका आफ्ना मन्त्रालय अन्तरगतका प्रश्नहरूको जवाफ दिनुहुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडक पूर्वाधार बिस्तार र मर्मतका कामहरू चलिरहेकाले तत्कालै पूर्ण प्रतिफल नदेखिए पनि केही समयमा राम्रो प्रगति देखिने बताउनुभयो ।

मन्त्री दाहालले निर्माणको काम हुँदा केही समय अस्तव्यस्त जस्तो देखिने भए पनि लामो समयसम्म त्यस्तो अवस्था रहन नदिन मन्त्रालयले प्राथमिकतामा राखी समन्वय गरिरहेको बताउनुभयो ।

बाढी पहिरोका कारण बिग्रेका राजमार्गहरूको वैकल्पिक मार्ग व्यवस्थापनको काम सरकारको प्राथमिकतामा रहेको उल्लेख गदै भौतिक पूर्वाधार मन्त्री दाहालले वर्षा अगावै तिनको व्यवस्थापन गरिने जानकारी गराउनुभयो ।

प्रतिनिधि सभाको अर्को बैठक फागुन २७ गते मङ्गलवार दिनको १ बजे बस्नेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button