गृह श्रमिक महिलाहरूद्वारा पहिचानको माग
काठमाडौँ । घरको काम गरेर बचेको समयमा अतिरिक्त काम गर्ने गृह श्रमिक महिलाहरूले श्रमको उचित मूल्य र पहिचानको माग गरेका छन् ।
गृह श्रमिक सरोकार समाज नेपाल र मानव अधिकारका लागि महिला एकल महिला समूहले आज काठमाडौँमा आयोजना गरेको छलफल कार्यक्रममा सहभागी गृह श्रमिक महिलाहरूले घरमा बसेर गर्ने सिलाइ बुनाइ, जुत्ताचप्पल बनाउने र डोका डाला र नाम्ला बुन्ने लगायतका कामलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध हुने अवसर प्रदान गर्न सरकारसँग माग गरेका छन् ।
छलफलमा लामो समय गृह श्रमिकका रुपमा काम गर्दै आउनुभएकी अप्सरा महर्जनले घरको सबै काम भ्याएर अतिरिक्त समयमा महिलाहरूले गर्ने कामको कानूनी मान्यता, ज्याला निर्धारण, सरकारी तथा गैरसरकारी क्षेत्रमा काम गर्ने श्रमिक सरह पारिश्रमिक पाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा अधिवक्ता गोमा निरौलाले श्रम ऐन संशोधन गरि गृह श्रमिकलाई पनि सम्बोधन गर्नुपर्ने बताउनुभयो ।
प्रतिनिधि सभा सदस्य रमा कोइरालाले सरकारले सञ्चालन गरेका ठूला उद्योगहरू बिस्तारै बन्द हुँदै गइरहेको अवस्थामा अनौपचारिक रुपमा अर्थतन्त्रलाई गृह श्रमिकले ठूलो टेवा दिँदै आएकाले उनीहरूको पहिचान दिन सरकार तयार हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
छलफलमा मानव अधिकारका लागि महिला एकल महिला समूहकी कार्यकारी निर्देशक उपासना राणाले देशभर दस हजार एकल महिला गृह श्रमिकका रुपमा काम गर्दै आएको र उनीहरूले कामअनुसारको ज्याला र पहिचान नपाएको बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्